तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
यार्सागुम्बा: 'वर्षभरि भारतमा कमाउनेभन्दा एक महिना यार्सागुम्बा टिप्दा फाइदा'
- Author, कृष्णमाया उपाध्याय
- Role, जुम्ला
- Published
कर्णाली प्रदेशको मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका २ मा बस्ने सोनाम तामाङ सानैदेखि आफ्नो पढाइ खर्चको जोहो यार्सागुम्बा टिपेर आफैँले गर्दै आएको बताउँछिन्।
वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा पढाइ खर्च जुटाउन सकिने १२ कक्षामा अध्ययनरत उनले बताएकी हुन्।
"वर्षमा ११ महिना घरको काम गर्छौँ, १ महिना मात्रै पाटनमा गएपछि एक जनाले कम्तीमा ५० हजारदेखि धेरैमा ५ लाख रुपैयाँसम्म यार्सागुम्बाबाट कमाउन सकिन्छ," उनले भनिन्।
उनीजस्ता धेरैले यार्सागुम्बा टिपेर नै आफ्नो पढाइ खर्च जुटाउने गरेको उनी बताउँछिन्।
'पहाड हिँड्न सक्ने सबै जान्छन्'
पढाइ खर्च जुटाउन विद्यार्थीमात्रै होइन घरखर्च जुटाउन भन्दै कर्णालीका विभिन्न जिल्लाबाट महिला, पुरुष, स्कुले बालबालिकाहरू उच्च भागमा रहेका पाटनहरूमा यार्सागुम्बा सङ्कलन गर्न जाने गर्छन्।
तर कोभिड-१९ का कारण लगातार दुई वर्षसम्म यार्सागुम्बा टिप्ने काम रोकिँदा त्यसले छाक टार्नै गाह्रो भएको अनुभव उनीहरूको छ।
यो वर्षबाट पुन: सङ्कलनको काम सुरु भएपछि यसले नुन, तेल र पढाइ खर्च जुटाउन केही सहज हुने उनीहरूले आशा गरेको छन्।
जुम्लाको गुठिचौर गाउँ पालिकाको वडा नम्बर ३ का स्थानीय बासिन्दा लालबहादुर बुढाको अनुभव छ, "वर्षभरि भारतमा गएर कमाउनुभन्दा एक महिना पाटनमा जाँदा धेरै कमाइ हुन्छ।"
उनले भने, "पाटनको उकालो चढ्दा केही दुख भएपनि यार्सागुम्बा भेटिएपछि सबै दुख भुल्ने गरेका छौँ।"
जुम्लाको गुठीचौर र पातरासी गाउँपालिकाका धेरै मानिसहरूको आम्दानीको स्रोत यार्सागुम्बा नै हो।
१० वर्षभन्दा माथिका बालबालिकासहित सबै मानिसहरू खेतीको काम छोडेर भए पनि यो मौसममा पाटनमा जाने उनी बताउँछन्।
कर्णालीका मानिस यार्सागुम्बा टिप्न पाटनमा जान्छन् भने किन्न धेरै व्यापारीहरू पनि पुग्छन्।
कतिपय व्यापारीले त यार्सागुम्बा टिप्ने मानिसका घरमै पुगेर पहिला नै पैसासमेत बैना गर्छन्।
एउटा यार्सागुम्बा पाँचसयदेखि सातसय रुपैयाँसम्ममा बेच्न सकिएको पाटनबाट फर्किएकाहरू बताउँछन्।
कर्णालीबासी धेरैजसो यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाको तीन हजारदेखि पाँच हजार मिटर उचाइमा पर्ने कागमारा, थापाखोला, हाङदाङ लगायतका पाटनमा पुग्छन्।
डोल्पाको जगदुल्ला गाउँपालिकाको वडा नम्बर ३ की केसु लामाका अनुसार यतिबेला गाउँका अधिकांश मानिसहरू यार्सागुम्बा टिप्न गएका छन्।
हिँड्न नसक्ने वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरूमात्रै गाउँमा बसेका छन्।
केसु लामा भन्छिन्, "गएका दुई वर्षमा यार्सा सङ्कलनको काम रोकिँदा दैनिकी चलाउन साह्रै गाह्रो भयो। हाम्रो आम्दानीको मुख्य स्रोत भनेको नै यार्सागुम्बा हो।"
डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाका अर्का स्थानीय बासिन्दा चन्द्रबहादुर थापाका अनुसार कतिपयले यार्सागुम्बा टिपेर त्यहीँ व्यापारीलाई बिक्री गर्छन् भने कतिपयले घर फर्किएर बिक्री गर्छन्।
राजस्व सङ्कलन कति भयो?
डोल्पा र मुगु जिल्लामा रहेका १६ वटा पाटन क्षेत्रमा गत जेठ १० गते देखि एक महिनाको लागि यार्सागुम्बा सङ्कलनको लागि खुला गरिन्छ।
से फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका अनुसार यार्सागुम्बा सङ्कलनको लागि डोल्पा मात्रै नभएर जुम्ला, मुगु, कालिकोट, जाजरकोट, रुकुम लगायतका जिल्ला मानिसहरू आउने गरेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीका अनुसार झण्डै तीन हजारभन्दा बढी मानिसहरू यो वर्ष पाटनमा गएका छन्।
उनले भने, "अन्य ठाउँको तुलनामा यहाँ उच्च गुणस्तरको यार्सागुम्बा पाइने भएकाले मानिसहरू यहाँ धेरै आउने गरेका छन्।"
मानिसहरू पाटन प्रवेशका लागि १६ वटा ठाउँबाट छिर्ने भएकाले त्यहाँ अस्थायी चेकपोस्ट समेत स्थापना गरिन्छ।
प्रमुख संरक्षण अधिकृत भण्डारीका अनुसार यो वर्ष अहिलेसम्म राजस्व सङ्कलनबाट झण्डै ५० लाख रुपैयाँ उठेको छ।
कोरोनाभाइरसको महामारी सुरु हुनुभन्दा अगाडिको समयमा वर्षमा झण्डै ३ करोड रुपैयाँ राजश्व उठ्ने गरेको तथ्याङ्क रहेको पनि उनले बताए।
पहिलो पटक पाटनमा सरसफाइ अभियान
यार्सागुम्बा सङ्कलन गर्न जाँदा जथाभावी प्लास्टिक फालेर मानिसहरूले सुन्तर पाटनलाई कुरूप बनाइदिने गरेकाले यो वर्षदेखि सफाइ अभियान गर्न लागिएको निकुञ्जले जनाएको छ।
यार्सागुम्बा सङ्कलन गरिसकेपछि फर्किनुभन्दा दुई दिन अगाडि पाटनका फोहोरहरू निकुञ्जमा ल्याएर व्यवस्थापन गरिने निर्णय भएको भण्डारीले बताए।
उनका अनुसार १६ वटा पाटन क्षेत्रमा २० जनाका दरले समूह बनाएर फोहोर सङ्कलन गरिने र ती समूहको नेतृत्व महिलाहरूले गर्ने उनले बताए।
निकुञ्ज, निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरू र डोल्पा जिल्लाका विभिन्न स्थानीय तहहरूको समन्वयमा यो अभियान गर्न लागिएको बताइएको छ।
यार्सागुम्बाको व्यापार गर्नेहरू के भन्छन्?
व्यापारीहरू यार्सागुम्बा खरिद गर्न पाटन नै पुग्ने वा मानिसका घरघरमा जाने गर्छन्।
दुई वर्ष कोरोनाभाइरसको महामारीका कारण यार्सागुम्बा सङ्कलन रोकिँदा धेरै घाटा भएको उनीहरू बताउँछन्।
लामो समयदेखि यार्सागुम्बाको व्यापार गर्दै आएका मुगुका गेलोङ तामाङले भने, "दुई वर्ष रोकिँदा एक जना व्यापारीले ५० लाखदेखि १ करोड रुपैयाँसम्म घाटा बेहोर्नु पर्यो।"
विगत १५ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै आएका तामाङ एक वर्षमा १ करोड ५० लाख रुपैयाँ बराबरको व्यपार हुने बताउँछन्।
धेरैजसो चिनियाँ बजारबाट यार्सागुम्बाको माग हुने भएकाले त्यहाँको भाउ अनुसार प्रतिकिलो यार्सागुम्बा १० लाखदेखि २५ लाख रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले बताए।