प्रधानमन्त्री बालेनको व्यवहारप्रति प्रतिपक्षीको प्रहार, रास्वपा मौन

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ४ मिनेट

राष्ट्रपतिले सोमवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' अचानक हिँडेलगत्तै उनको व्यवहारले एक खालको सनसनी मच्चायो।

धेरैले उनको व्यवहारप्रति टिप्पणी गर्दै त्यो 'अमर्यादित र असंसदीय' रहेको सामाजिक सञ्जालमा लेखेका छन्। कतिपयले आकस्मिक अवस्था उत्पन्न भएको हुन सक्ने भन्दै प्रधानमन्त्रीलाई 'शङ्काको लाभ' पनि दिएको पनि पाइन्छ।

तर मङ्गलवारसम्म पनि सरकार वा प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट यस प्रकरणबारे कुनै स्पष्टीकरण आएको छैन। बीबीसीले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, उनको दलका पदाधिकारी लगायतलाई सम्पर्क गर्दा पनि प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भइसकेकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे संसद् निर्धारित नियम र मर्यादामा चल्ने र प्रधानमन्त्रीले त्यसलाई मान्नुपर्ने ठान्छिन्।

"राष्ट्रपति वा अरूले सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री वा सांसदहरूले बीचमै छोडेर हिँड्न मिल्दैन। अहिलेसम्मको संसदीय अभ्यास त्यस्तो छ," उनी भन्छिन्, "संसारका अन्य देश र नेपालले अँगालेको संसदीय अभ्यासको पालना गर्नुपर्छ।"

बालेन दुई पटक 'गायब'

प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम बुझाउँछन्। राष्ट्रपतिले त्यो संयुक्त सदनमा वाचन गर्छन्।

तर प्रधानमन्त्रीमा आफैँले सुम्पेको कार्यक्रम राष्ट्रपतिले सुनाउँदासम्म बैठकमा बस्ने धैर्य देखिँदैन।

राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको भिडिओ रेकर्ड यूट्यूबमा राखिएको छ।

एक घण्टा २६ मिनेट लामो उक्त भिडिओमा राष्ट्रपति १४ मिनेट पुग्दा बोल्न थालेका छन्। प्रधानमन्त्रीले करिब ४० मिनेटजति सम्बोधन सुन्छन्।

तर उक्त भिडिओमा अन्तिम पटक उनी ५५ मिनेटमा देखिन्छन्।

तर भिडिओको रेकर्ड एक घण्टा पुग्दा प्रधानमन्त्री बालेनको कुर्सी रित्तो देखिन्छ। उनी बाहिरिएको दृश्य भिडिओमा परेको छैन।

राष्ट्रपतिको सम्बोधन सकिएपछि सभामुख डोलप्रसाद अर्यालले संसद्लाई निर्देशन दिन्छन्, "बैठक स्थगित भए पनि आआफ्नो स्थानमा उभिएर सम्माननीय राष्ट्रपति महोदयलाई बिदाइ गर्नुहुन माननीय सदस्यहरूलाई आग्रह गर्दछु।"

त्यसपछि राष्ट्रपति अभिवादन गर्दै बाहिरिन्छन्। त्यतिबेला पनि प्रधानमन्त्रीको फर्किएका हुँदैनन्।

बालेनको अनुपस्थितिमा राष्ट्रपतिलाई 'धन्यवाद'

पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्री नीलाम्बर आचार्यलाई प्रधानमन्त्रीले राष्ट्रपति र संसद्को मर्यादा उल्लङ्घन गरेको लागेको छ।

"प्रधानमन्त्रीबाट जुन सम्मानको अपेक्षा गरिन्छ गर्न सक्नुभएन," त्यसलाई गम्भीर घटना बताउँदै आचार्य भन्छन्, "प्रधानमन्त्री संसद्‌बाट निर्वाचित नेता पनि हो, अरूले पनि उहाँको व्यवहार अनुसरण गरे र राष्ट्रपति बोल्दाबोल्दै हाउस रित्तिने स्थिति हुन्छ किन हुँदैन? त्यसैले उहाँले गलत उदाहरण प्रस्तुत गर्नुभयो।"

संयुक्त बैठकपछि प्रतिनिधि सभाको बैठक बस्छ।

सुरुमै एमालेका गुरु बरालले प्रधानमन्त्रीको व्यवहारप्रति प्रश्न उठाउँछन्। प्रधानमन्त्री निस्केको परिस्थितिलाई उनले बहिष्कारको रूपमा अर्थ्याए, "यो नीति र कार्यक्रमप्रति उहाँको स्वामित्व के हो? यो संसद् बुझ्न चाहन्छ।"

लगत्तै राष्ट्रपतिले गरेको सम्बोधनको प्रति प्रधानमन्त्री बालेनले टेबुल गर्छन् र फेरि पनि बैठकबाट निस्किन्छन्। उक्त दृश्य भने संसद्को भिडिओ अभिलेखमा देखिन्छ।

कतिपय सांसदहरू हाँस्छन्, कतिपयले आश्चर्यको रूपमा हेरेको पाइन्छ। सभामुख अर्यालले सम्बोधनको निम्ति राष्ट्रपतिप्रति धन्यवाद ज्ञापन प्रस्ताव पेस गर्छन् जुन सर्वसम्मतिमा पारित हुन्छ।

तर धन्यवादज्ञापनका बेला प्रधानमन्त्री अनुपस्थित हुन्छन्।

जानीजानी गरे कि नजानेर?

प्रधानमन्त्री निर्वाचित भएयता राष्ट्रपतिसँग शिष्टाचार भेट गर्न नगएको, राष्ट्रपतिले एउटा अध्यादेश पुनर्विचारको निम्ति फर्काएको लगायतका घटनाक्रम निकाल्नेहरू प्रधानमन्त्री "नियतवश" बाहिरिएको ठान्छन्।

राष्ट्रपतिले राजीनामा दिएर मार्ग प्रशस्त गरिदेऊन् भन्ने चाहना पनि हुन सक्ने उनीहरूको आकलन पाइन्छ।

तर पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाम्फे "दुई नेताबीचको तनावको परिणाम" नभई जानीजानी नयाँपन देखाउन त्यस्तो व्यवहार गरेको हुन सक्ने ठान्छिन्।

"तर नयाँ गर्छु भनेर जथाभाबी हिँड्न मिल्दैन। नियमसङ्गत ढङ्गले हिँड् पर्छ," उनी भन्छिन्, "संविधान र कानुनमा टेकेर नयाँपन देखाउँदा अतिउत्तम, नत्र फसिन्छ। आफूले नजाने हो भने जानेको मान्छेलाई सोध्नुपर्‍यो, नियमावली पढ्नुपर्‍यो।"

मङ्गलवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको व्यवहारप्रति कडा आपत्ति व्यक्त गरेका छन्।

पूर्वकानुन न्याय तथा संसदीय मामिलामन्त्री नीलाम्बर आचार्य "प्रधानमन्त्रीले त्यो व्यवहार सच्याउने र आफ्नो भुल स्वीकार गर्ने आशा गर्नुपर्ने" बताउँछन्।

"भुल भयो भन्ने कुरा आत्मसात् गर् भएको कुरा उहाँले जुन शब्दमा जसरी गरे पनि व्यक्त गर्नुपर्‍यो नि त," उनले भने, "अन्जानमा भएको म ठान्दिनँ, प्रधानमन्त्री भनेको व्यक्ति मात्रै होइन, संस्था हो- अनुभव कम वा बढी भन्ने हुँदैन। सहजस्वभाव र सहजबुद्धि भन्ने सबैसँग हुन्छ। जहिलेसुकै क्रोध र आक्रोश सुहाउँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।