भारतीय विदेशमन्त्री पनि सहभागी सम्मेलनमा परराष्ट्रमन्त्रीले सुनाएका नेपालका प्राथमिकता

पढ्ने समय: ५ मिनेट

हिन्द महासागरप्रतिको सामूहिक जिम्मेवारी सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन हाल मरिशसमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सार्वभौम समानता र असंलग्न विदेश नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।

उनले मध्यपूर्वमा जारी सङ्कटले नेपालमा पारिरहेका असरहरू सुनाउँदै कुनै पनि द्वन्द्वको शान्तिपूर्ण समाधानको पक्षमा नेपाल उभिने बताएका छन्।

भारतसहित विभिन्न देशका विदेशमन्त्री सहभागी सम्मेलनको एउटा सत्रमा उनले राष्ट्रसङ्घको बडापत्रप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै नियममा आधारित विश्व व्यवस्थाको पक्षमा नेपाल रहेको उल्लेख गरेका थिए।

उनले नेपाललाई हिमाल र समुद्रबीचको पुलका रूपमा चित्रण गरेका छन्।

दुई साताअघि सत्ता सम्हालेयता प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको विदेश नीतिबारे सार्वजनिक रूपमा बोलेका छैनन्।

तर उनले केही दिनअघि काठमाण्डूस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

नेपालको विदेश नीति र मध्यपूर्व तनाव

मन्त्री खनालले मध्यपूर्वमा जारी द्वन्द्वलाई बेवास्ता गर्न नसकिने भन्दै त्यसले नेपाललाई ठूलो प्रभाव पारिरहेको बताए।

मध्यपूर्वमा दशौँ लाख नेपालीहरू रोजगारीमा रहेको उल्लेख गरेका खनालले उनीहरूको सुरक्षा सरकारको सबैभन्दा उच्च प्राथमिकतामा रहेको धारणा व्यक्त गरेका छन्।

उक्त द्वन्द्वमा एक नेपालीले ज्यान गुमाएको र कैयौँ घाइते भएका छन्। उनले भने, "उक्त द्वन्द्वको प्रभाव त्यस क्षेत्रभन्दा कैयौँ परसम्म छ र यसले इन्धनको मूल्य वृद्धि गराएको छ। आपूर्ति प्रणाली र जीविकोपार्जनमा पनि असर पारेको छ। यी अवरोधहरूले हिन्द महासागरको स्थिरता विश्व शान्तिका लागि अविभाज्य रूपमा जोडिएको छ।"

समुद्री सुरक्षाका जोखिम, विश्वव्यापी आपूर्ति प्रणालीको अवरोध र बढ्दो असमानताको सम्बोधन सहकार्यबाट मात्रै सम्भव नहुने बताउँदै उनले त्यसका लागि वास्तविक सामूहिक जिम्मेवारी वहन आवश्यक रहेको उल्लेख गरे।

मन्त्री खनालका भनाइमा नेपालका लागि त्यस्तो सामूहिक उत्तरदायित्वको अर्थ 'साँघुरो घेराबाट मुक्त भएर अघि बढ्नु' र साझा हितका लागि सामूहिक जिम्मेवारी लिनु हो। त्यसका लागि अन्तर्राष्ट्रिय कानूनको पालना गरिनुपर्ने र सार्वभौम समानता, आपसी सम्मान र सहअस्तित्वको अवधारणालाई मार्ग निर्देश मानिनुपर्ने उनको अवधारणा थियो।

नेपालले शान्तिपूर्ण ढङ्गले विवादको समाधानमा जोड दिने गरेको बताउँदै मन्त्री खनालले नेपालको विदेश नीति राष्ट्र सङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त र असंलग्नतामा आधारित रहेको स्मरण गराए।

उनले भने, "हामी नियममा आधारित विश्व व्यवस्थाका लागि आह्वान गर्छौँ, जहाँ साना ठूला सबै देशका अधिकारलाई सम्मान गरिन्छ।"

हिन्द महासागर र हिमालयको अन्तर सम्बन्धको चर्चा

मन्त्री खनालले प्राचीनकालदेखि नै नेपालको हिन्द महासागरसँग प्राकृतिक र अविभाज्य सम्बन्ध रहेको भन्दै हिमाल र समुद्रको स्वास्थ्य अन्तर्निहित रहेको बताए।

इन्डिया फाउन्डेशनले आयोजना गरेको नवौँ इन्डियन ओसन कन्फ्रेन्समा सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तनले हिन्द महासागर र हिमालय दुवैमा सबैभन्दा ठूलो खतरा निम्त्याइरहेको बताए।

नेपालका हिमाल र हिमनदीबाट बन्ने ठूला नदी प्रणाली अन्ततः हिन्द महासागरमा मिसिने उल्लेख गर्दै उनले नेपालका हिमाल र हिन्द महासगर अपरिचित नभएको धारणा सुनाए।

हिमालय र हिन्द महासागर पर्यावरण, जल विज्ञान र भाग्यद्वारा जोडिएको बताउँदै उनले भने, "हिमाल र समुद्रको स्वास्थ्य अविभाज्य छ। यो अन्तरनिर्भरतालाई जलवायु परिवर्तनले थप चुनौतीपूर्ण बनाएको छ।"

"नेपालका हिमनदीहरू अभूतपूर्व ढङ्गले सङ्कुचित हुँदै जाँदा हामीले हिमताल विस्फोट र सम्पूर्ण समुदायलाई नै जोखिममा पार्ने बाढीको चुनौती भोगिरहनुपरेको छ। यही समयमा हिन्द महासागरमा अरू समुद्र भन्दा निक्कै चाँडो तापमान वृद्धि भइरहेको छ।"

हिन्द महासागर विश्वव्यापी व्यापार र इन्धन आपूर्तिको महत्त्वपूर्ण मार्ग भएको र त्यहाँ स्थिरता आवश्यक रहेको उनको मत छ।

मन्त्री खनालको भनाइ छ, "हिमालमा जे पग्लिरहेको छ, त्यसले अन्ततः समुद्र(को सतह) वृद्धि गराइरहेको छ।"

गौतम बुद्धदेखि भगवान् शिवसम्मको चर्चा

हिमालयदेखि हिन्द महासागरसम्मको मार्ग व्यापारका लागि मात्रै प्रयोग नहुने गरेका उदाहरण दिँदै उनले गहिरो सभ्यता र दर्शनसमेत त्यसले बोकेको बताए।

यही मार्ग हुँदै नेपालमा जन्मिएका गौतम बुद्धको शिक्षा विश्वका विभिन्न भागमा पुगेको बताउँदै उनले बुद्धले कुनै पनि कुरा एक्लै अस्तित्वमा नरहने बताएको र उक्त प्राचीन विचारको महत्त्व आधुनिक विज्ञान र भूराजनीतिमा रहेको धारणा सुनाए।

भूपरिवेष्टित देश भएकाले समुद्रसम्मको पहुँच नेपालको अन्तर्निहित अधिकार रहेको उल्लेख गरेका उनले समुद्री अर्थतन्त्रमा भाग लिने अधिकार समेत प्राप्त गर्नुपर्ने बताए।

"यो भूगोलले दिएको विशेषाधिकार होइन, बरु अन्तर्राष्ट्रिय कानूनले दिएको अधिकार हो।"

आफ्नो सम्बोधन अन्त्य गर्ने क्रममा उनले समुद्रको कुरा सुन्दा जहिले पनि आफूलाई हिन्दु धर्मशास्त्रको समुद्र मन्थनको कथा सम्झना आउने गरेको सुनाए।

मन्त्री खनालले देवराज र असुरहरूले अमृत मन्थनका लागि सहकार्य गर्ने निधो गर्दा सुरुमा हलाहल विष निस्किएको उल्लेख गर्दै त्यसले सम्पूर्ण सृष्टिलाई जोखिम निम्त्याएको सम्झिए।

त्यो बेला भगवान् शिवले उक्त विष पिएको उल्लेख गर्दै उनले शक्ति सम्पन्नहरूमा भगवान् शिवको जस्तो करुणा भाव आवश्यक रहेको बताए।

नेपाल वार्ताको साझेदार, भूपरिवेष्टित देशहरूको आवाज र हिमाल अनि समुद्रबीचको पुलका रूपमा सबैका हितका लागि काम गर्न सदैव तत्पर रहेको उनले उल्लेख गरेका थिए।

भारतीय विदेशमन्त्रीसँग के कुरा भयो?

मरिशसमा परराष्ट्रमन्त्री खनालले भारत, बङ्गलादेश, भुटानसहित विभिन्न देशका आफ्ना समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ताहरू गरेका छन्।

शुक्रवार खनाल र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच भेटवार्ता भएको थियो। त्यसक्रममा दुई पक्षीय मुद्दाहरूमा छलफल भएको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जाल एक्समा परराष्ट्रमन्त्री खनालले दुई देशका नागरिकको आपसी हितका लागि सबै क्षेत्रमा सहकार्यको निम्ति नजिक रहेर काम गर्न तयार रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयले दुई देशका नेताहरूले लामो समयदेखि रहेको बहुआयामिक सम्बन्धको समीक्षा गरेको र दुई पक्षीय सहकार्य थप अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ।

भारतीय विदेश मन्त्री जयशङ्करले सामाजिक सञ्जाल एक्समा भारत-नेपाल साझेदारीको बृहत् सम्भावना साकार पार्न विभिन्न क्षेत्रहरूमा गहिरो सहकार्य गर्नेबारे छलफल गरिएको जनाएका छन्।

नेपालका नयाँ प्रधानमन्त्रीले सत्ता सम्हालेपछि सबैभन्दा पहिले भारतको भ्रमण गर्ने परम्परा रहँदै आएको छ।

तर दुई देशका परराष्ट्रमन्त्री तहमा भएको छलफलमा उच्चस्तरीय भ्रमणबारे कुराकानी भए या नभएको अधिकारीहरूले बताइसकेका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।