अमेरिकी नाकाबन्दीबीच भान्सले इरानमाथि लगाए होर्मुजमा 'आर्थिक आतङ्कवाद'को आरोप

होर्मुज स्ट्रेटमा एक पानीजहाज

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास होर्मुज स्ट्रेट भएर बाहिरिन्छ (फाइल)
पढ्ने समय: २ मिनेट

इरानका बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी लागू हुने समय सुरु भइसकेको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी पूर्वीय समयअनुसार सोमवार १०:०० बजे (१४:०० जीएमटी) मा नाकाबन्दी सुरु हुने बताएका थिए।

यी घटनाक्रमबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान सरकारमाथि होर्मुज स्ट्रेट हुँदै आवतजावत अवरुद्ध गरेर "आर्थिक आतंकवादको कार्य" गरेको आरोप लगाएका छन्।

एउटा टेलिभिजनसँगको कुराकानीमा उनले इरानीहरू "आर्थिक आतङ्कवादको कार्यमा संलग्न भए" अमेरिकाले "कुनै पनि इरानी जहाजलाई बाहिर निस्कन नदिने" नीति लिने बताए।

भान्सले सप्ताहान्तमा भएको इरानसँगको वार्ताबारे पनि चर्चा गरे।

"बल इरानको कोर्टमा छ," उनले भने।

यसअघि इरानी संसद्का सभामुखले तेहरान "धम्कीका सामु नझुक्ने" बताएका थिए। ट्रम्पको पछिल्लो भनाइबारे भने इरानी अधिकारीहरूको प्रतिक्रिया आएको छैन।

यूके मरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले एक एड्भाइजरी जारी गर्दै जहाजहरूले उक्त क्षेत्रमा "सैन्य उपस्थिति" र "जाँच प्रक्रियाहरूको" सामना गर्नु पर्नसक्ने बताएको छ।

'अमेरिकाले नमानेको इरानको प्रस्ताव'

एरिअल तस्बिर

तस्बिर स्रोत, Getty Images

यसैबीच 'न्यूयोर्क टाइम्स'ले वरिष्ठ इरानी अधिकारीहरूलाई उद्धृत गर्दै इरानले पाँच वर्षका निम्ति परमाणु गतिविधि रोक्न राखेको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको उल्लेख गरेको छ। उक्त रिपोर्टका अनुसार अमेरिकाले उक्त गतिविधि २० वर्षका निम्ति रोकिनु पर्नेमा जोड दिएको थियो।

रिपोर्टका अनुसार अमेरिका र इरानबीच पाकिस्तानमा वार्ताका क्रममा तेहरानको आणविक गतिविधि रोक्ने विषयमा चर्चा भएको हो। यद्यपि उनीहरू कुनै सम्झौतामा पुग्न सकेनन्।

बीबीसीले यसबारे ह्वाइट हाउससँग प्रतिक्रिया मागेको छ।

इरानको परमाणुसम्बन्धी महत्वाकांक्षा द्वन्द्वको एउटा मुख्य विषय रहँदै आएको छ।

राष्ट्रपति ट्रम्पले अमेरिकाले इरानसँग परमाणु हतियार नहुने कुरा सुनिश्चित गर्ने दोहोर्‍याउँदै आएका छन्।

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न आह्वान गरेका छन्। युद्धको "कुनै सैन्य समाधान छैन" भन्ने "स्पष्ट" रहेको भन्दै उनले उक्त आग्रह गरेका हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।