अमेरिकाले 'प्रोजेक्ट फ्रीडम' रोक्नुको अर्थ के हो

तस्बिर स्रोत, Reuters
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध अन्त्य हुने गरी इरानसँग सहमति हुन सक्ने जनाएपछि बुधवार एशियामा तेलको मूल्य घटेको छ।
ट्रम्पले होर्मुज जलमार्गमा 'प्रोजेक्ट फ्रीडम' सञ्चालन गर्ने घोषणा गरेपछि फेरि द्वन्द्व चर्किने डर बढेको थियो। तर उनले होर्मुज जलमार्गमा फसेका पानीजहाजलाई अमेरिकी सेनाले सुरक्षा दिएर बाहिर निकाल्ने योजना तत्कालका लागि रोकेका छन्।
बुधवार 'ब्रेन्ट क्रूड' कच्चा तेलको मूल्य प्रतिब्यारल १.७ प्रतिशतले घटेर १०८ अमेरिकी डलर कायम भयो। अमेरिकाले बिक्री गर्ने तेलको मूल्य पनि १.६%ले घटेर १००.६० डलर पुग्यो। मध्यपूर्वमा आक्रमण बढ्दा यो साताको सुरुतिर तेलको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको थियो तर पछि बिस्तारै घट्यो।
फेब्रुअरी २८ मा अमेरिका र इजरेलले इरानमाथि हमला गर्न थालेपछि इरानले होर्मुज जलमार्गमा चल्ने पानीजहाजहरूमाथि आक्रमण गर्ने धम्की दिएपछि विश्वभरि इन्धनको मूल्य बढेको छ। विश्वभरि वितरण हुनेमध्ये २० प्रतिशत तेल र ग्यास होर्मुजको बाटो हुँदै निर्यात हुन्छ।
अमेरिका र इरानबीच युद्धविराम घोषणा भएपछि पनि तेलको मूल्य खासै घटेको छैन। दुई पक्षबीच ८ एप्रिलमा घोषित युद्धविरामको अवधि पछि लम्ब्याइयो।
ट्रम्पले के भने

तस्बिर स्रोत, Adam J. Dewey/Anadolu via Getty Images
ट्रम्पले इरानसँग "सहमति गर्न सकिन्छ कि सकिँदैन भनेर हेर्न" छोटो अवधिका लागि 'प्रोजेक्ट फ्रीडम' रोक्ने घोषणा मङ्गलवार सामाजिक सञ्जालमार्फत् गरे। त्यसअघि उनले नै होर्मुज जलमार्गबाट विभिन्न देशका पानीजहाजलाई बाहिर निकाल्न अमेरिकाको नेतृत्वमा उक्त अभियान सञ्चालन गर्ने योजना सार्वजनिक गरेका थिए।
अमेरिकी सेनाले सो अभियानमा १५,००० सैनिक, १०० वटा विमान र लक्ष्यभेदन गर्न सक्ने निर्देशित क्षेप्यास्त्रहरू प्रहार गर्न मिल्ने युद्धपोतहरू प्रयोग गरिने जनाएको थियो।
तर इरानको सेनाले होर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको भन्दै त्यहाँ प्रवेश गर्न खोज्ने "जुनसुकै विदेशी सशस्त्र बल, विशेष गरी आक्रामक अमेरिकी सेनालाई" हमला गर्ने जनाएको छ।
"इरानका प्रतिनिधिहरूसँग पूर्ण र अन्तिम सहमति गर्ने दिशामा धेरै प्रगति भएको छ," ट्रम्पले लेखेका छन्। यद्यपि उनका अनुसार अमेरिकाले इरानी बन्दरगाहहरूबाट आउजाउ गर्ने पानीजहाजहरूलाई अवरोध गर्न छोड्ने छैन।
अमेरिकाले इरानमाथि आर्थिक दबाव सिर्जना गर्न त्यसो गर्दै आएको छ।
पानीजहाजहरूको गतिविधि निगरानी राख्ने वेबसाइट मरीन ट्राफिकका अनुसार बुधवार स्ट्रेट अफ होर्मुजमा जहाजहरूको निकै कम आवतजावत देखिन्छ।
अमेरिकी अभियान रोकिनुको अर्थ

तस्बिर स्रोत, AFP via Getty Images
लगानी फर्म स्याक्सोसँग आबद्ध रणनीतिकार चारु चनानाका अनुसार व्यापारीहरूका लागि प्रोजेक्ट फ्रीडम रोकिनुको अर्थ "वाशिङ्टन फेरि कूटनीतिक माध्यमबाट समाधान" खोज्न चाहन्छ भन्ने हो।
तर उनी यसलाई निर्णायक मोड ठान्दिनन्।
"के यसले होर्मुज जलमार्गबाट हुने व्यापार फेरि खोल्न वास्तविक प्रगति हुन्छ? तेल व्यापारीहरूका लागि महत्त्वपूर्ण प्रश्न यो हो," उनी भन्छिन्।
तर उनका अनुसार अहिले त्यो पुष्टि गर्ने प्रमाण खासै देखिएको छैन।
'इरानविरुद्ध प्रारम्भिक कारबाही सकियो'

तस्बिर स्रोत, Reuters
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिका र इजरेलले इरानविरुद्ध थालेको प्रारम्भिक कारबाही सकिएको र वाशिङ्टनको उद्देश्य पूरा भएको बताएका छन्।
"हामी शान्तिको मार्ग रुचाउँछौँ। राष्ट्रपतिले खोजेको कुरा सहमति हो," उनले संवाददाताहरूलाई भने।
इरानले रुबिओको टिप्पणीबारे प्रतिक्रिया दिइसकेको छैन। तर इरानी संसद्का सभामुखले यसअघि प्रक्रिया भर्खर सुरु भएको जनाउँदै "अमेरिकाले यथास्थितिको निरन्तरता सहन सक्दैन भन्ने हामी सबैलाई राम्ररी थाहा छ" भनेका थिए।
प्रोजेक्ट फ्रीडमका कारण दुई पक्षले गरेको युद्धविराम सङ्कटमा पर्न सक्ने ठानिएको थियो।
केही इरानी सञ्चारमाध्यमले प्रोजेक्ट फ्रीडमको स्थगनलाई इरानको विजयका रूपमा प्रस्तुत गरेका छन्।
"ट्रम्प पछि हटेका छन्," इस्लामिक रेभलूशनरी गार्ड कोरसँग निकट मानिने कट्टरपन्थी तस्निम समाचारसंस्थाले अमेरिकी राष्ट्रपतिले "आफ्नो विफलता ढाकछोप" गर्न खोजेको दाबी गरेको छ।
इरान सरकारको स्वामित्वमा रहेको समाचारसंस्था आईआरएनएले यो "अमेरिकाको पराजय" भएको र ट्रम्पले आफ्नो "अन्तिम कार्ड" प्रयोग गरेको जनाएको छ।
अमेरिकाले होर्मुज जलमार्गमा इरानका केही "फास्ट बोट"माथि आक्रमण गरेको बताएको थियो। यूएईले इरानी पक्षबाट तेल आपूर्ति गर्ने एउटा बन्दरगाहमा आक्रमण भएको आरोप लगाएको थियो। तर तेहरानले त्यसको खण्डन गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।






















