मैत्रीपूर्ण फुटबलमा चिनियाँ प्रान्तीय टोलीमाथि नेपालको सहज जित

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू
  • Published

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोली र चीनको प्रान्तीय टोली छिङ हाई युसुबीच भएको मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ।

उक्त खेलमा २३ वर्ष मुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले ५-१ गोल अन्तरले सहजै विजयी भयो।

सन् १९९५ पछि अर्थात् २९ वर्षपछि चिनियाँ फुटबल टोली दशरथ रङ्गशालामा आएर खेल्दा सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिएका थिए।

तर फुटबल खेल सुरु भएपछि भने नेपाली टोलीले विपक्षी टोलीलाई पूरा खेल अवधिभर दबाबमा राखेको थियो।

क-कसले गरे गोल?

पछिल्लोपटक २९ वर्ष अगाडि सन् १९९५ मा चीनको फुटबल टोलीले दशरथ रङ्गशालामा खेलेको थियो।

झट्ट हेर्दा चीनको टोली आफ्नो नयाँ वर्षको दिनलाई उल्लासमय बनाउने क्रममा नेपालसँग मैत्री फुटबल खेल्न लागेको जस्तो देखिन्छ।

तर गहिरिएर हेर्ने हो भने यो खेलले नजिकको छिमेकी भएर पनि निकै टाढिएको फुटबल सम्बन्ध स्थापित गर्न खोजेको समेत कतिपयले बताइरहेका छन्।

यस्तोमा शनिवार भएको मैत्रीपूर्ण खेलमा नेपाली टोलीका लागि समीर तामाङले दुई गोल गरे। सञ्जीव विष्ट, छिरीङ लामा र निराजन धामीले १/१ गोल गरे। 

चीनका तर्फबाट जर्सी नम्बर ७७ का खेलाडी झाक्सी पेङगुकोले सान्त्वना गोल फर्काएका थिए। 

नेपाली पक्षले महत्त्व दिएको खेल

चीनको प्रान्तीय टोली भए तापनि नेपालले त्यसलाई हलुका रूपमा नहेरेको खेलअघि नेपाली पक्षले बताएको थियो।

सायद त्यसैले पनि नेपाली राष्ट्रिय टोलीका इटलियन प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसलाई नै युवा टोली सम्हाल्ने जिम्मा दिइएको छ।

युवा टोलीमा ५ जना सिनियर टोलीका खेलाडीहरू समावेश छन्।

जसमा कप्तानको रूपमा मनिष डाँगी छन् भने राष्ट्रिय टोलीबाटै आयुष घलान, लकेन लिम्बू, उत्सव राई र सञ्जीव विष्ट समेत छन्। बाँकी पनि नाम चलेका अनुहारहरू नै टोलीमा राखिएका थिए।

लामो अन्तरालपछि नेपाल र चीनबीच काठमाण्डूमा भएको उक्त फुटबल खेललाई दुवै देशका अधिकारीहरूले महत्त्व दिएका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका राजदूत चेन सङ मैदानमा उपस्थित थिए।

"चीन नेपाली खेलकुदको विकासको अहम् हिस्सा रहे पनि पछिल्लो समय त्यसमा कता कता टाढिएजस्तो देखिएको थियो," प्रतियोगिताको आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ भन्छन्।

"यस मैत्रीपूर्ण फुटबलले यसमा न्यानोपन थपेको छ।"

सन् १९९५ को त्यो रोचक खेल

नेपाल, सिंगापुर पुलिस र चीनको एउटा टोली बिच सन् १९९५ मा दशरथ रङ्गशालामा एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो।

त्यसबेलाको चिनियाँ टोली निकै लयमा थियो।

र प्रतियोगिताको लीग चरणको अन्तिम खेल नेपाल र चीनबीच थियो। 

भइदियो के भने त्यो खेलमा नेपालले बराबरी गर्न सके नकआउट चरणमा पुग्थ्यो।

चीन भने पहिले नै दोस्रो चरणमा पुगिसकेको थियो।

पहिलो हाफसम्म छिटो-छिटो ३ गोल गरेको चिनियाँ टोली दोस्रो हाफमा थप गोल गरेन। 

बरु नेपाललाई गोल गर्न सहज वातावरण बनाइदिएको खेल विश्लेषकहरू ठान्छन्।

खेलको दोस्रो हाफमा त यस्तो माहोल बन्यो की चिनियाँ खेलाडीहरूले नेपाललाई गोल गर्न अवसर दिए पनि नेपाली खेलाडीहरू गोल गर्नै सकेनन्।

दर्शकले भरिभराउ रङ्गशालामा त्यस स्थिति निकै सम्झनलायक रहेको विश्लेषण अझैसम्म पनि हुनेगर्छ।

नेपालले बराबरी गरेको खण्डमा लिगबाटै आउट हुने सिंगापुर पुलिसको टोलीले प्याराफिटमा बसेर त्यो खेल हेरिरहेका थिए।

अन्ततः नेपालले गोल गरेर खेल बराबरीमा ल्यायो। नेपाल नकआउट चरणमा पुग्यो। 

सिंगापुर घर फर्कियो भने नेपालमा प्रतियोगितामा अगाडी बढ्यो।

अन्तर्राष्ट्रिय भेट

सन् १९८० को दशकमा नेपालमा एन्फा कपको आयोजना हुने गर्थ्यो र त्यसमा चीनका टोलीहरू आएर खेल्ने गर्थे।

आधिकारिक रूपमा भने १९८२ को किङ्ग्स कपमा नेपाल र चीनबीच खेल भएको देखिन्छ। जसमा चीनले नेपाललाई ४-० ले हराएको थियो।

त्यसपछि सन् १९८६ मा काइदे आजम अन्तर्राष्ट्रिय कपमा पनि नेपाल र चीन आमने सामने भए। त्यो बेला चीनले ५-० को नतिजा निकालेको थियो।

अरू बेला नेपाल र चीनको भेट ओलिम्पिक छनोटमा मात्र भएको छ।

सन् १९८८ को ओलिम्पिक छनोटको दोस्रो चरणमा पुगेपछि त्यहाँ चीनसँग भेट भएको थियो।

चीन, जापान थाइल्याण्ड र नेपालको सो समूहमा होम एन्ड अबेको आधारमा दुई देशमा भएको सो खेलमा चीनले नेपाललाई ८-० र १२-० ले पराजित गरेको थियो।

त्यसपछि सन् १९९२ को ओलम्पिक छनोटमा पनि नेपाल र चीनको भेट भयो।

त्यो बेला पनि चीनले नेपालविरुद्ध १०-० र ४-० गरी कुल १४ गोल गरेको थियो।

उक्त खेलमा नेपालका नियमित गोलकिपर मृगेन्द्र मिश्र र वैकल्पिक गोलकिपर रवि राजकर्णिकार दुवै घाइते भएपछि रक्षापंक्तिका पारस चौधरी गोलकिपर बसेका थिए।

सहकार्यको सम्भावना

अन्तर्राष्ट्रिय फुटबलमा चीन आफैले पनि पछिल्लो केही समयदेखि ठूलो अन्तर्राष्ट्रिय सफलता हात पार्न सकेको देखिएको छैन।

तर चीन र नेपालबीचको मैत्रीपूर्ण फुटबल हुने क्रम बढ्न सकेमा पनि त्यो नेपालको लागि निकै लाभदायी हुने खेलाडी एवं विश्लेषकहरू ठान्छन्।

फुटबलमा भइरहेको उच्च लगानीका कारण चिनियाँहरूको प्रान्तीय टोलीसँग खेल्दा पनि नेपाली राष्ट्रिय टोलीको लागि 'एक्सपोजर' पाउने राम्रो अवसर बन्न सक्ने धेरैको बुझाइ छ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ प्रतिनिधिले नेपालको टोलीलाई चीनमा खेल्ने निम्तो समेत दिएर त्यसमा आशा थपिसकेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।