तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी र इरानी सेनाबीच गोली हानाहान भए पनि ट्रम्पले भने 'युद्धविराम कायम छ'
राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी र इरानी सेनाबीच बिहीवार अबेर राति गोली हानाहान भए तापनि युद्धविराम अझै कायम रहेको बताएका छन्। कुन पक्षले पहिला गोली चलायो भन्ने स्पष्ट भएको छैन।
अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएको अनि अर्को जहाज होर्मुज जलमार्गतर्फ आउन खोजेको र तटीय क्षेत्रमा "हवाई हमला" गरिएको इरानका एक उच्च सैनिक कमान्डरले आरोप लगाएका छन्।
अमेरिका चाहिँ होर्मुज जलमार्गमा अमेरिकी नौसेना निर्देशित क्षेप्यास्त्र विध्वंसक (मिसाइल डिस्ट्रोएर) माथि इरानले आक्रमण गरेपछि "आत्मरक्षा"मा प्रत्याक्रमण गरिएको दाबी गरेको छ।
आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी आक्रमणकरीहरूलाई "ठूलो क्षति" पुर्याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको बताएका छन्।
"ती डुङ्गाहरू छिटै र प्रभावकारी रूपमा समुद्रको सतहमा पुगे। हाम्रा डिस्ट्रोएरहरूमाथि क्षेप्यास्त्रहरू प्रहार गरियो र तिनलाई सजिलैसँग खसालियो। त्यसै गरी ड्रोनहरू पनि आए, जसलाई हावामै नष्ट पारियो," ट्रम्पले लेखेका छन्।
नाकाबन्दी 'यथावत्'
ट्रम्पले इरानविरुद्ध अमेरिकी नाकाबन्दी कायमै रहेको पनि उल्लेख गरेका छन्। यसअघि ट्रम्पले इरानसँग सम्झौता गर्ने दिशामा "ठूलो प्रगति" हासिल गरेको भन्दै होर्मुज जलमार्ग भएर जहाजहरूलाई निकाल्ने काम अमेरिकाले मङ्गलवार स्थगित गरेको थियो।
यसअघि युद्ध अन्त्यबारे अमेरिकी नयाँ प्रस्तावको अध्ययन गरिरहेको इरानले बुधवार जनाएको थियो।
अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानीजहाजहरूको निर्बाध आउजाउ शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ।
अमेरिकाले इरानलाई परमाणु अस्त्र हासिल गर्न दिने "शून्य सम्भावना" रहेको ट्रम्पले दाबी गरेका छन्।
इरान "त्यसमा सहमत भएको" भन्दै उनले अगाडि थपेः "अब हेरौँ सम्झौतामा हस्ताक्षर गर्न उनीहरू तयार छन् वा छैनन्!"
"वार्ताहरू एकदम राम्ररी अगाडि बढिरहेका छन्, तर सम्झौतामा हस्ताक्षर भएन भने ठूला पीडामा पर्ने कुरा उनीहरूले बुझ्नुपर्छ," ट्रम्पले चेतावनी दिए। "मलाई विश्वास छ कि मलाई भन्दा उनीहरूलाई सम्झौताको आवश्यकता छ," उनले अगाडि थपे।
यसअघि बुधवार सहमतिको आशा व्यक्त गरेका ट्रम्पले हिंसाबारे नयाँ चेतावनी पनि दिएका थिए।
सम्झौताका लागि इरान सहमत नभएमा "बमबारी शुरू हुने छ र दुःखका साथ भन्नुपर्दा त्यो पहिलाको भन्दा अझ उच्च स्तरको अनि भीषण हुने छ" भनी आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा ट्रम्पले लेखेका थिए।
घटनाबारे इरानी प्रतिक्रिया
पछिल्लो घटनाबारे प्रतिक्रिया जनाउँदै इरानको आईआरजीसीले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
अमेरिकी सेनाले जास्क बन्दरगाहनजिक एउटा इरानी तेल ट्याङ्कलाई निशाना बनाएको आईआरजीसीले विज्ञप्तिमार्फत् जनाएको छ।
"इरानी नौसेनाले सघन विस्फोटक युद्धशीर्षमार्फत् जबाफी कारबाही गर्यो र अमेरिकी शत्रुहरूलाई महत्त्वपूर्ण क्षति भएको गुप्तचर निगरानीबाट सङ्केत पाइयो, शत्रुका तीन वटा अतिक्रमणकारी जहाज तत्काल होर्मुज जलमार्गबाट भागे," आईआरजीसीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।