अमेरिका र इरानद्वारा खाडीमा ताजा हमला

तस्बिर स्रोत, AFP
- Author, यारोस्लफ लुकिफ
- Author, टोबी मान
- Published
- पढ्ने समय: २ मिनेट
अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजतर्फ प्रहार गरिएका चार वटा इरानी ड्रोन खसालिदिएको बताएको छ।
उसको भनाइमा ती "ओडब्ल्यूए (वान-वे अट्याक) ड्रोनहरू" तत्कालै त्यस क्षेत्रको समुद्री परिवहनको निम्ति खतराको कारण बन्न पुगेका थिए।
यूएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा अमेरिकी सेनाले "तटीय निगरानीको निम्ति गारुक र केशम टापुस्थित इरानी रेडार क्षेत्रमा आक्रमण" गरेको उल्लेख छ, जुन उसको भनाइमा थप हमला रोक्न गरिएको हो।
अमेरिकी सेनाले इरानी ड्रोन र रेडार स्थलमा आक्रमण गरेको बताएका बेला त्यसको जबाफमा कुवेत र बाहरेनमा रहेका अमेरिकी अड्डालाई निशाना बनाएको तेहरानले जनाएको छ।
इरानको सरकारी समाचार संस्था इरिबका अनुसार इरानले जबाफी कारबाही स्वरूप कुवेतमा रहेका दुई वटा अमेरिकी हवाई अड्डाहरू र बाहरेनस्थित अमेरिकी नौसेनाको इलाकालाई बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।
आक्रमणलाई लिएर वादविवाद

सेन्टकमका अनुसार प्रारम्भिक आकलनमा खाडीका दुई वटा देशमा ७ वटा इरानी क्षेप्यास्त्र प्रहार गरिएको र ती मध्ये ६ वटा क्षेप्यास्त्रहरू निस्तेज पारिएका र एउटा क्षेप्यास्त्र आफ्नो लक्ष्यसम्म नपुगेको देखिएको छ।
यो घटना अमेरिका र इरानबीच आक्रमण भएको केही दिनपछि भएको छ जसले अप्ठेरोमा परेको देखिएको दुई देशबीचको युद्धविराममाथि खतरा बढाइदिएको थियो।
स्थानीय अधिकारीहरूका अनुसार कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार इरानले गरेको ड्रोन आक्रमणमा एक जना व्यक्तिको मृत्यु हुनुको साथै ६० जनाभन्दा बढी घाइते भएका थिए।
इरानी फौज आईआरजीसीले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरिदिएको छ। क्षेप्यास्त्र निस्तेज पार्ने अमेरिकी प्रणालीको त्रुटिका कारण उक्त क्षति भएको उसको भनाइ छ।
तर सेन्टकमले त्यो झूटो भएको बताएको छ। इरानले विमानस्थलमा "जानीजानी, नियोजित र गलत आक्रमण"' गरेको उसको दाबी छ।
आइआरजीसीले त्यसअघि इरानको तेल ट्याङ्कर र केशम टापुमा भएको अमेरिकी आक्रमणको प्रतिकार स्वरूप आफूले खाडीमा रहेका अमेरिकी सैन्य आधार शिविरमा हमला गरेको बताएको थियो।
बन्दरगाहमाथिको नाकाबन्दी कहिलेसम्म?

तस्बिर स्रोत, Getty Images
अमेरिका र इरानबीच युद्धविराम वार्तामा अवरोध र लडाइँ रोक्ने सम्झौता अघि बढ्न नसकेका बेला यी आक्रमणहरू भएका हुन्।
अमेरिका र इजरेलले फेब्रुअरी २८ तारिखमा इरानमाथि ठूलो स्तरमा आक्रमण गरेपछि मध्यपूर्वभरि द्वन्द्व चर्किएको थियो।
इरानले खाडीमा इजरेल र खाडीस्थित अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गरेर त्यसको जवाफ दिएको थियो।
त्यस्तै उसले स्ट्रेट अफ होर्मुज व्यापक स्तरमा बन्द नै गरिदियो, जुन जलमार्ग हुँदै विश्वको लगभग २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास परिवहन हुने गर्छ।
त्यसपछि नै तेलको मूल्य विश्वव्यापी रूपमा उकालो लागेको हो।
एप्रिलको सुरुमा युद्धविराममा सहमति भएको केही समय लगत्तै अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दी लगाइदियो, राष्ट्रपति डोनल्ड ट्रम्पले त्यो नाकाबन्दी "सम्झौतामा नपुग्दासम्म, प्रमाणीकरण र हस्ताक्षर नहुँदासम्म पूर्ण रूपमा लागु रहने" बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















