तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन युद्ध 'अन्त्यनजिक' पुगेको पुटिनको सङ्केत
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्व अन्त्य हुने नजिक पुगेको भनी आफूलाई लागेको बताएका छन्।
तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उनले स्पष्ट पारेका छन्।
तात्कालिक सोभियत सङ्घले नाजी जर्मनीविरुद्ध जित हासिल गरेको सम्झनामा धेरै वर्षयता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेम्लिनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले पछिल्लो अभिव्यक्ति दिएका हुन्।
रुसले द्वितीय विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत सङ्घको जितको सम्झनामा हरेक मे ९ तारिखमा राष्ट्रिय बिदा मनाउने गरेको छ।
परेडमा उपस्थित बीबीसीका एक सम्पादकका अनुसार यस पटक त्यहाँ कुनै ट्याङ्क अथवा अन्य सैन्य उपकरणहरू थिएनन्, जुन क्रेम्लिनले सामान्यतया अन्तर्राष्ट्रिय मञ्चमा रुसी शक्ति प्रदर्शन गर्ने उद्देश्यले देखाउने गर्छ।
यसपालि फरक देखियो
रेड स्क्वायरमा आयोजित विजय दिवस परेडमा उपस्थित भएका बीबीसीका रुस मामिला सम्पादक स्टिभ रोजेनबर्गले यसपालि फरक महसुस गरेको बताएका हुन्।
"यस वर्षको संस्करण एकदम फरक थियो। अघिल्ला वर्षहरूमा सेन्ट बेसिल कथ्रिडलसँगै रहने मिडिया बसबाट दौडेर चोकनजिक प्रेसका लागि मिलाइएको स्थानमा बस्नका लागि मैले ठाउँ खोज्नु पर्थ्यो," उनले भनेका छन्।
"यसपालि दौडिने आवश्यकता परेन। कार्यक्रममा पत्रकारहरूको सङ्ख्या पनि न्यून थियो। कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उपस्थितिका लागि अनुमति पाएका थिएनन्।"
रेड स्क्वायरमा मेरो स्थानमा म पुग्नेबित्तिकै रुसी टेलिभिजनको एउटा टोली मनजिक आयो र छायाङ्कन सुरु गर्यो।
"विदेशी सञ्चारमाध्यमलाई अनुमति दिइएको छ भन्ने कुराको प्रमाण तिमी रहेछ, स्टिभ," मुस्कुराउँदै रिपोर्टरले मसँग भने।
"त्यस्तो त होइन," मैले जबाफ दिएँ। "म अरू कसैलाई देख्दिनँ त।"
"तथापि २०२६ को विजय परेड कस्तो हुने रहेछ भन्ने हेर्नका लागि उपस्थित हुन पाएकोमा म खुशी भएँ।"
एकअर्कामाथि आरोप-प्रत्यारोप
यसैबीच रुस र युक्रेनले शनिवारदेखि सुरु भएको तीन दिने युद्धविरामको धेरै पटक उल्लङ्घन भएको आरोप एकअर्कामाथि लगाएका छन्।
कुनै ठूलो आक्रमणको विवरण नआएको भए पनि रुसी गणतन्त्र चेचेन्यामा एउटा युक्रेनी ड्रोन हमलामा छ जना घाइते भएका छन्। रुसमै अन्यत्र गरिएका ड्रोन हमलामा कम्तीमा तीन जना घाइते भएका छन्।
अर्कोतर्फ युक्रेनमा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा गरेका थिए।
तीन दिने युद्धविरामका क्रममा दुवै देशबीच एक/एक हजार जना कैदीहरू साटासाट गरिने पनि उनले उल्लेख गरेका थिए।
अमेरिकाले रुस र युक्रेनबीच कैयौँ चरणका वार्ताको मध्यस्थता गरिसकेको छ, तर ती वार्ताहरूले अहिलेसम्म नतिजा दिन सकेका छैनन्।
मध्यपूर्वको युद्धतर्फ अहिले वाशिङ्टनको ध्यान मोडिएको भन्दै चिन्ता समेत व्यक्त हुँदै आएका छन्।
शुक्रवार इटलीको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले अमेरिका रुस र युक्रेनबीच वार्ता गराउन अझै मध्यस्थता गर्न तयार रहेको बताएका थिए। तर वार्ताहरूमा प्रगति नहुने भए अमेरिकाले समय खेर नफाल्ने उनले टिप्पणी गरे।
युक्रेनमा रुसको पूर्णस्तरको अतिक्रमणबाट लाखौँ व्यक्तिको ज्यान गएको छ भने युक्रेनको ठूलो भाग ध्वस्त भएको छ। युद्धका कारण रुसको पनि अर्थतन्त्र गम्भीर रूपमा प्रभावित भएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।