तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इबोलाको जोखिम नेपालमा कति, के गरिरहेको छ सरकार
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपलाई जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय चासो सहितको सङ्कटकाल भनेर घोषणा गरेसँगै नेपालमा पनि त्यसका लागि सतर्कता अपनाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा इबोला प्रकोप फैलिएपछि त्यसबाट संसारभरि चासो सिर्जना भएको भन्दै आइतवार "विश्व स्वास्थ्य सङ्कट" घोषणा गरेको हो।
प्रभावित देश हुँदै आउने नेपाली वा विदेशीलाई 'स्क्रीनिङ' गरेर 'क्वारन्टीनमा राख्नका लागि भनिसकिएको' स्वास्थ्य मन्त्रालयले जनाएको हो।
भारतमा अहिलेसम्म नदेखिएका कारण स्थल मार्गमा भने अहिले यसकै लागि विशेष केही नगरिएको तर त्यसका लागि पनि तयारी अवस्थामै रहेको मन्त्रालयले जनाएको छ।
अहिले तत्कालका लागि जोखिम त्यस्तो नदेखिएका कारण आत्तिनुपर्ने अवस्था नभए पनि सतर्कता भने अपनाउनुपर्ने एक जना सङ्क्रामक रोग विशेषज्ञले बताएका छन्।
कङ्गोको पूर्वी इटुरी प्रान्तमा फैलिएको प्रकोपमा लगभग २४६ सन्दिग्ध घटनाहरू देखिएको र ८० जनाको मृत्यु भएको विवरण आएका छन्।
तर हाल पत्ता लागेको र सार्वजनिक भएको विवरणहरू भन्दा "धेरै ठूलो प्रकोप" हुन सक्ने र त्यसले स्थानीय र क्षेत्रीय फैलावटको उल्लेखनीय जोखिम रहेको डब्ल्यूएचओले जनाएको छ।
सरकारले के गरिरहेको छ?
डब्ल्यूएचओले स्वास्थ्य सङ्कटकाल घोषणा गरेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ्ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको बताए।
"त्यस्तो खालको शङ्कास्पद लक्षण लिएर कोही आइहाल्नुभयो वा सम्बन्धित देशबाट यात्रा गरेर आइहाल्नुभयो भने उहाँहरूलाई क्वारन्टीनमा पठाउने र त्यसै अनुसार सूचना सन्देश दिने कामहरू गरेका छौँ," उनले भने।
"त्यो क्षेत्र (कङ्गो र युगान्डा)मा नेपालीहरू जाने र आउने खासै त्यस्तो देखिँदैन। कोही त्यसरी नेपाली वा विदेशीहरू आउनुभएको देखियो भने स्क्रीनिङ गर्ने र क्वारन्टीनमा राख्ने, परीक्षण गर्ने काम हुन्छ।"
कङ्गोमा नेपालीहरू शान्ति सेनामा जाने गरेका छन्। उनीहरू जाने वा आउने क्रममा नियमित रूपमा नै ती सुरक्षाकर्मीको 'स्क्रीनिङ' हुने गरेको मन्त्रालयले जनाएको हो।
"शान्ति सेनामा जानेहरूको हकमा जानुभन्दा अगाडि पनि र फर्किएर आएपछि पनि नियमित प्रक्रिया अनुसार क्वारन्टीन बसेर मात्रै बाहिर जाने व्यवस्था छ। हामी त्यसै अनुसार नियमित रूपमै गर्छौँ," सह प्रवक्ता अधिकारीले भने।
"भारतलगायत छिमेकी मुलुकहरूमा अवस्था कस्तो हुँदै जान्छ त्यसको विश्लेषणको आधारमा स्थलगत नाकामा इबोला केन्द्रित गरेर सुदृढ गर्ने कुराहरूलाई पछिल्लो कार्य योजनामा राखेका छौँ।"
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर शेरबहादुर पुन अहिलेको अवस्थामा आत्तिइहाल्नुपर्ने अवस्था नभए पनि सतर्कता अपनाउनुपर्ने देखिएको बताउँछन्।
विगतमा पनि मङ्कीपक्सजस्ता रोगहरू अध्यागमनमार्फत् पर्यटक वा विदेशबाट फर्किएका नेपालीमा पाइएको उदाहरण रहेकाले इबोलाको केसमा पनि सतर्कता अपनाएर बस्न उनी सुझाउँछन्।
"एमपक्सलाई नै उदाहरणको रूपमा लिँदा कुनै समयमा अफ्रिकी महादेशमा सीमित रहेको भाइरस केही समयअघि युरोप लगायत नेपालसम्म आइपुगेको पुष्टि भएको थियो," डाक्टर पुनले भने।
"त्यो कारणले गर्दा केही हुँदैन भन्न त मिल्दैन। इबोला तेस्रो देशमा गयो र त्यहाँ नेपालीसँग सम्पर्क भएर सङ्क्रमित भएर आउनसक्ने सम्भावना रहन्छ। त्यसैले जोखिमको सम्भावनाको कुरा त रहिरहन्छ।"
खासगरी भारतमा अहिलेसम्म पुष्टि भई नसकेका कारण नेपाललाई राहत भए पनि त्यहाँ देखिने बित्तिकै नेपालका लागि पनि जोखिम उच्च रहने उनले बताए।
इबोला कस्तो भाइरस हो?
स्वास्थ्य निकायले इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुजो भाइरसको कारणले भएको र त्यसका लागि कुनै स्वीकृत औषधि वा खोपहरू नभएको जनाएको छ।
इबोला सङ्क्रमणको प्रारम्भिक लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने, थकान हुने, टाउको दुख्ने र घाँटी दुख्ने पर्छन् र त्यसपछि बान्ता हुने, पखाला लाग्ने, दाग र रक्तस्राव हुने विज्ञहरू बताउँछन्।
यो भाइरस कङ्गोभन्दा बाहिर छिमेकी देश युगान्डामा पनि पुष्टि भएका विवरणहरू आएका छन्।
इबोला पहिलो पटक सन् १९७६ मा अहिलेको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता लागेको थियो र यो चमेरोबाट फैलिएको मानिन्छ। कङ्गोमा यो घातक रोगको १७ औँ प्रकोप हो।
डब्ल्यूएचओका अनुसार इबोलाको कुनै प्रमाणित उपचार छैन भने औसत मृत्यु दर लगभग ५० प्रतिशत रहेको छ।
विगत ५० वर्षमा अफ्रिकी देशहरूमा यो भाइरसबाट लगभग १५,००० मानिसहरूको मृत्यु भइसकेको छ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सबैभन्दा घातक प्रकोप सन् २०१८ र सन् २०२० को बीचमा भएको थियो जुन अवधिमा लगभग २,३०० जनाको मृत्यु भएको थियो।
गत वर्ष कङ्गोको दुर्गम क्षेत्रमा फैलिएको प्रकोपबाट ४५ जनाको मृत्यु भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।