भारत: 'महिनामा एउटा पिज्जा मात्र खाने' सम्झौता गरेका दम्पती

भारत

तस्बिर स्रोत, WEDLOCK_PHOTOGRAPHY_ASSAM

Published

जोडीहरूबीच विवाहका सम्झौताहरू अधिकांश गम्भीर विषयहरूमा हुने गर्छन्। 

तर एक भारतीय जोडीले उनीहरूको हालै सम्पन्न विवाहका बेला गरेको अनौठो विषयवस्तुमा गरेको "सम्झौता" मिडियाको हेडलाइन र सोसल मिडियामा भाइरल बनेको छ। 

रमाइलोका लागि यो गर्न हुने र त्यो नहुने भन्ने सूची नव विवाहितका साथीहरूले तयार पारेका हुन् जुन स्वाभाविक रूपमा कानुनी सम्झौता होइन। 

तर इन्स्टाग्राममा विवाहको भोलिपल्ट २२ जूनका दिन अपलोड भए यता एउटा सम्झौतामा हस्ताक्षर गर्दै गरेको १६ सेकेन्ड लामो उक्त भिडिओ चार करोड ५० लाख पटक हेरिसकिएको छ। 

दुलाहा र दुलही वा उनीहरूका साथीहरूले यस्तो सम्झौता पत्रमा हस्ताक्षर गरिएका घटना यसअघि पनि सार्वजनिक भएका थिए। 

तर पछिल्लो भाइरल भएको भिडिओ चाहिँ यसको सूचीमा सबभन्दा माथि रहेको "महिनामा एउटा मात्र पिज्जा" भन्ने बुँदाका कारण हो।

यो सुझाव २४ वर्षीय दुलही शान्ति प्रसाद लक्षित छ जसले असाध्यै पिज्जा मन पराउँछिन् र उनले आफ्नी कलेजदेखिका प्रेमी २५ वर्षीय मिन्टु रायसँग विवाह गरिन्। 

उनीहरूले उत्तर पूर्वी राज्य आसामको गुहाटीमा एउटा परम्परागत समारोहबीच विवाह गरे।

उक्त जोडीले वाणिज्यका कक्षाहरू पढ्ने क्रममा पाँच वर्षअघि भेटेको थियो जो पछि एउटा ह्वाटसएप ग्रुपमा समेत जोडियो। 

भारत

तस्बिर स्रोत, WEDLOCK_PHOTOGRAPHY_ASSAM

एकदिन उनले कलेज छुटाइन् र सहयोग माग्दा मिन्टुले सहजै त्यसलाई स्विकारे। 

उनीहरू कुराकानी गर्न थाले र साथी बने। उनीहरूबीच प्रेमको सुरुवात भयो र सन् २०१८ को फेब्रुअरीमा यो जोडी आफ्नो पहिलो 'डेट'मा गयो। 

"हामीले दिनको अन्तिम कक्षामा बसेनौँ र नजिकैको पिज्जा पसलमा गयौँ। मलाई उनलाई पिज्जा खुवाउन लैजानुपर्छ भन्ने थाहा थियो किनभने उनले सधैँ पिज्जाको कुरा गर्थिन्," विद्युतीय सामानहरू विक्री गर्ने व्यवसाय सञ्चालन गर्ने गरेका मिन्टुले भने। 

शान्तिले थपिन्, "म पिज्जाकी निकै सौखिन हुँ। डेटका बेला मैले सधैँ पिज्जा खान जाऊँ भन्थेँ।"

तर केही समयपछि मिन्टुले पनि "पिज्जा मन पराए पनि दिनदिनै खान नसक्ने" भन्दै गुनासो गर्न थाले। 

शान्तिले भनिन्, "उसले कति पिज्जा खान्छौ? आज अरू केही खाऔँ न भन्न थाले।" 

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारत जलसङ्कट: एक गाग्री पानीका लागि यस्तो सङ्घर्ष

त्यो जोडी आफूले कहिल्यै खानका विषयमा झगडा नगरेको बताउँछ। 

तर शान्तिका भनाइमा 'उनले सधैँ साथीहरूसँग त्यसबारे गुनासो गर्न थालेपछि त्यो ठट्टाको विषय' बन्न थालेको थियो।

"मलाई लाग्छ उनी फुर्सदमा वा अझ भनौँ निद्रामा पिज्जाबारे सोच्छिन्," त्यस दम्पतीका सहपाठी राघव ठाकुरले भने। 

त्यस्तो अचम्मको वैवाहिक सम्झौताको सोच तयार पार्ने पनि उनै ठाकुर हुन्। 

"उनको पिज्जा मोहलाई देखेरै हामीले त्यसलाई सबैभन्दा माथिपट्टि राखेका हौँ," ठाकुरले प्रस्ट्याए। 

भारत

तस्बिर स्रोत, COURTESY: SHANTI RAI

विवाहअघिको सातामा तयार पारिएको सम्झौतामा कैयौँ सर्तहरू छन्। 

मिन्टुले आइतवार बिहानको खाजा तयार पार्नुपर्छ र शान्तिलाई हरेक १५ दिनमा किनमेल गराउन लैजानुपर्छ, राति अबेरसम्म हुने भोज वा जमघटमा श्रीमतीलाई लैजानै पर्छ। 

पिज्जा ठिक्क मात्रामा खानेबाहेक शान्तिले पनि दैनिक व्यायाम गर्न जाने र हरेक दिन साडी लगाउने सर्त स्विकारेकी छन्। 

राघव भन्छन्, "किनकी मिन्टुले शान्ति साडीमा निकै राम्री देखिने बताउँछन्।"

"हाम्रा साथीहरूले यस्तो तयारी गरिराखेका छन् भन्ने हामीलाई थाहा थिएन। तर सहपाठीहरूले हामीलाई निकै राम्ररी चिनेका रहेछन्," शान्तिले सुनाइन्। 

तर ख्यालठट्टाको रूपमा सुरु भएको यस विषय एकाएक सामाजिक सञ्जालमा फैलियो। 

फोटोग्राफी कम्पनी इन्स्टाग्राममा त्यो राख्नासाथ त्यसमा दशौँ लाख भ्युज र लाइकहरू देखा पर्न थाले। 

उनीहरूले त्यो सम्झौतालाई भित्तामा राख्न सकियोस् भनेर फ्रेम बनाएर दिएका छन्।

तर शान्ति सम्झौतामा अडिग रहलिन् भन्नेमा राघवलाई निकै कम आशा छ। 

"उनले यसलाई ठट्टाका रूपमा लिएकी छन्। पछिल्ला केही वर्षमा ३-४ किलो तौल बढ्यो भनेर उनले गुनासो गरिरहन्छिन्। तर पिज्जा खान कम गर्नेबारे उनले विचार गरेझैँ लाग्दैन," राघवले हाँस्दै भने। 

शान्तिले त्यसमा समर्थन जनाउँदै भनिन्, "बिहेपछि मात्र हामीले दुईपटक पिज्जा खायौँ। र त्यो भनेको दुई साता मात्र भयो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, १०५ वर्षीया भारतीय बजैले राखिन् दौडमा नयाँ कीर्तिमान