तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अफगानिस्तान भूकम्प: विध्वंस भएको क्षेत्रमा छैन खाने र बस्ने ठाउँ, बढ्यो हैजाको डर
- Author, सकन्दर कर्मानी
- Role, बीबीसी न्यूज, पक्तिका प्रान्त, अफगानिस्तान
- Published
अफगानिस्तानमा दुई दशकयता आएको सबैभन्दा विध्वंसकारी भूकम्पबाट बच्न सफल भएकाहरूले आफूहरूसँग खान र बस्नका लागि केही नभएको तथा सम्भावित हैजाको प्रकोपको डर लागेको बताएका छन्।
बीबीसीले भूकम्पबाट सबैभन्दा बढी प्रभावित पक्तिका प्रान्तमा पुगेर त्यहाँको पछिल्लो वस्तुस्थितिबारे रिपोर्टिङ गरेको छ।
आफ्नो घरको बाँकी रहेको भग्नावशेषमा सामानहरू खोज्दा आगा जानका आँखा रसाउँछन्।
"यी मेरा छोराका जुत्ता थिए," धूलो टक्टक्याउँदै उनी भन्छन्।
उनका तीन साना छोराछोरी र दुई श्रीमतीले सुतिरहेको बेला भूकम्पमा परी ज्यान गुमाएका थिए ।
बुधवार बिहान भूकम्पको धक्का महसुस भएपछि आगा जान आफ्नो परिवार बसेको कोठातर्फ हतारिँदै पुगे ।
"तर सबैकुरा भग्नावशेषमा पुरिएका थिए," उनले बीबीसीलाई भने।
"त्यहाँ मेरो बेल्चा पनि पुरिएको थियो। मैले गर्न सक्ने केही थिएन। मैले सहयोगको लागि मेरा भतिजाहरूलाई बोलाएँ। हामीले मेरा परिवारजनलाई बाहिर निकाल्दा उनीहरू जीवित थिएनन्।"
सबैभन्दा बढी प्रभावित
आगा जानको गाउँ वरपरको क्षेत्र पाक्तिका प्रान्तको बर्माल जिल्ला भूकम्पबाट सबैभन्दा बढी प्रभावितमध्येको एक हो।
त्यहाँ झन्डै एक हजार मानिसको ज्यान गएको र तीन हजारभन्दा बढी घाइते भएको अनुमान गरिएको छ।
यहाँ आइपुग्न पुग्न नजिकैको ठूलो सहरबाट गाडीमा तीन घण्टाको लाग्छ।
प्रायः सडकहरूमा खराब छन् र दुर्गम स्थान भएकाले घाइतेहरूलाई उपचारका लागि लैजान पनि निकै असहज हुन्छ।
यहाँबाट कतिपयलाई तालिबानको सैन्य हेलिकप्टरबाट अस्पताल लगिएको थियो।
सामान्यतया माटो र ढुङ्गाबाट बनेका गाउँका प्रायः सबै घर नराम्ररी क्षतिग्रस्त भएको देखिन्छ।
लगभग हरेक परिवार आफन्त गुमाएको शोकमा छन्।
भूकम्प आएको सुन्दा हबिब गुल पाकिस्तानी सहर कराचीमा मजदुरको रूपमा काम गर्दै थिए।
भूकम्पमा उनलले २० जना आफन्त गुमाए त्यसमध्ये १८ जना त एकै परिवारका थिए। उनी अहिले आफ्नो गाउँ बर्माल फर्किएका छन्।
"कसको नाम लिनु? मेरा धेरै आफन्तहरू, तीन दिदीबहिनी, मेरी भाञ्जी, मेरी छोरी, साना केटाकेटीहरू शहीद भए।"
हामीले भेटेका प्रत्येक गाउँले हामीलाई उनीहरूको घरको विनाश देखाउन चाहन्छन्।
आंशिक रूपमा किन पनि हो भने- उनीहरू संसारले त्यो विनाश हेरोस् भन्ने चाहन्छन्।
तर व्यवहारिक रूपमा हेर्ने हो भने उनीहरू आफ्नो नाम पनि सहायता पाउनेको सूचीमा चढोस् भन्ने चाहन्छन्।
हबिब गुलले बीबीसीसँग भने, "यदि संसारले हामीलाई दाजुभाइको रूपमा हेर्छ र हामीलाई मद्दत गर्छ भने हामी यहाँ हाम्रो भूमिमा बस्नेछौँ।"
"यदि उनीहरूले त्यसो गर्दैनन् भने हामी यो ठाउँ छोड्नेछौँ। यहाँ हामीले हाम्रो आँखामा आँसुसहित लामो समय बिताएका छौँ।"
यहाँको आकाशमा सैन्य हेलिकप्टरहरू घुम्छन्। तिनीहरूले अहिले घाइतेलाई उद्धार गरिरहेका छैनन् तर राहत वितरण गर्दैछन्।
हामीलाई तालिबान अधिकारीहरूले उद्धार कार्य पूरा भएको बताए।
सबैभन्दा ठूलो आवश्यकता भनेको घरबारविहीन भएका सयौँ परिवारका लागि आश्रयस्थलको हो।
आगा जान र उनका बाँचेका छोरामध्ये एकजना खाली जमिनमा काठको डण्डी बीचमा त्रिपाल टाँगेर बसिरहेका छन्।
अन्य परिवारहरू पनि पालमुनि छन् र उनीहरूले धेरै मेहनत गरेर बनाएका घरहरूको अवशेष बनेका छन्।
जिम्मेवारी
खालिद जानको काँधमा अब आफ्ना पाँच नातिनातिनाको जिम्मेवारी आइलागेको छ।
उनीहरूका पिता तथा खालिद जानका छोरा अन्य दुईजना छोराछोरीसहित भूकम्पमा मारिए।
"उनीहरूका लागि सबै म नै हुँ," पालमुनि एउटा परम्परागत फलामको खाटमा बसेका उनले भने।
"तर घर र सबैकुरा ध्वस्त भएको छ र म यसलाई कहिल्यै पुनर्निर्माण गर्न सक्नेछैन।"
अफगान र अन्तर्राष्ट्रिय सहायता निकायहरूले क्षतिको मूल्याङ्कन गर्दै छन्।
उनीहरूले राहत वितरण गरिरहेका छन् तर पहिले नै गम्भीर मानवीय सङ्कटसँग सङ्घर्ष गरिरहेको देशमा यो ठूलो नयाँ सङ्कट हो।
पीडितहरूलाई सहयोग गरिरहेको संयुक्त राष्ट्र सङ्घले हैजाको प्रकोपको सम्भावित जोखिमको चेतावनी दिइरहेको छ।
हबिब गुलको गाउँमा पुरुषहरू मृतकको सम्झनामा प्रार्थना गर्न भेला भएका छन्।
झन्डै २५० जनामध्ये लगभग ५० जनाको मृत्यु भएको छन्।
तर अब ध्यान बाँचेकातर्फ जानुपर्ने र कसरी छिटो सहायता पुग्छ भन्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ।