युक्रेन-रुस तनावः आफू समर्थित पृथक्तावादीको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्रलाई रुसद्वारा 'स्वतन्त्र राज्य'को मान्यता

सेना

तस्बिर स्रोत, Reuters

Published

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी भागमा रहेका दुईवटा पृथक्तावादी नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने बताएका छन्।

स्वघोषित जनगणतन्त्र डोनेट्स्क र लुह्यान्सक रुसले समर्थन गरेका विद्रोहीका पकड क्षेत्र हुन् र उनीहरूले युक्रेनको सैन्य बलसँग सन् २०१४ देखि लडिरहेका छन्।

रुसको पछिल्लो कदमले उक्त क्षेत्रमा शान्ति वार्ता समाप्त हुने सम्भावना देखिएको बताइएको छ।

उक्त कदमले युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना प्रवेश गर्नका लागि आधार तय गर्न सक्ने विषयबारे पश्चिमा शक्तिहरू चिन्तित छन्।

घोषणा लगत्तै पुटिनले एउटा आदेशमा हस्ताक्षर गरेका छन् जसमा रुसी सेनाले दुवै क्षेत्रमा''शान्ति स्थापनाका लागि भूमिका निर्वाह'' गर्ने उल्लेख गरिएको छ।

एक सम्बोधनका क्रममा पुटिनले डोनेट्स्क र लुह्यान्सक प्राचीन रुसी क्षेत्र रहेको उल्लेख गर्दै युक्रेनको सरकारलाई 'विदेशी शक्तिहरूद्वारा नियन्त्रित कठपुतली शासन' भनेका छन्।

पुटिन

तस्बिर स्रोत, Reuters

सम्बोधनका क्रममा उनले पश्चिमा राष्ट्रहरू र नेटोको चर्को आलोचना गरेका छन्।

रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनबाट छुट्टिन चाहेका क्षेत्रका मानिस लक्षित प्रतिबन्ध लगाउने आदेश जारी गर्ने ह्वाइट हाउसले जनाएको छ।

एक अमेरिकी अधिकारीले पुटिन आफैँले खडा गरेको द्वन्द्वलाई तीव्रता दिएको आरोप लगाएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरस र युरोपेली सङ्घले रुसी कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेनका स्वयंसेवी लडाकुहरू