लिथुएनिआ: चीनसँग नडराएको युरोपेली देश जुन अहिले केही लडखडायो

लिथुआनिया

तस्बिर स्रोत, Getty Images

Published

गत वर्ष जुलाईमा युरोपको सानो देश लिथुएनिआले राजधानीमा ताइवानी प्रतिनिधिको कार्यालय खोल्न दिएको घोषणा गर्‍यो।

सामान्य रूपमा त्यो ठूलो कुरा लाग्दैन थियो।

तर चीनका लागि त्यो कदम कूटनीतिक दुस्मनीको असह्य घोषणा थियो।

गत नोभेम्बरमा सो कार्यालय खुल्दा त्यो युरोपेली युनियनको देशमा ताइवानले आफ्नो नाम प्रयोग गरेर खोलेको पहिलो विदेश निकाय थियो।

यसले आफूलाई स्वशासित टापु बताउने ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने चीनलाई आक्रोशित बनायो।

चीनसँगको सम्बन्ध नबिगार्न धेरै देशले ताइवानसँग औपचारिक सम्बन्ध राख्दैनन् र ताइवानको प्रतिनिधि कार्यालयलाई राजधानी ताइपेईको नाममा मात्रै खोल्न दिन्छन्।

युरोपमा लिथुएनीयाले फरक बन्ने साहस गर्‍यो।

यसका लागि चीनले लिथुएनिआको निन्दा गर्‍यो तर अन्यत्र प्रजातन्त्रको पक्षपातीको रूपमा प्रशंसा गरियो। जम्मा २८ लाख जनसङ्ख्या भएको देशलाई चीनविरुद्ध उभिएको रूपमा चित्रित गरियो।

चीनले कूटनीतिक सम्बन्ध घटाउँदा र व्यापार नियन्त्रण गर्दा पनि लिथुएनिआ टसको मस भएको देखिएन।

तर यो साता लिथुएनिआका राष्ट्रपति गीटानस नौसेडाले आफ्नो देशको सो कदम राम्रो भएको विषयमा आशङ्का व्यक्त गरेका छन् जुन प्रतिक्रियाको चीनले स्वागत गरेको छ।

"मलाई लाग्छ ताइवानको कार्यालय खोल्न दिनु गल्ती थिएन, नाम चाहिँ [गल्ती] थियो जुन मसँग सल्लाह गरिएको थिएन," उनले मङ्गलवार एक स्थानीय रेडिओलाई भने।

चीनको विदेश मन्त्रालयले गल्ती भएको भन्नु सही कदम भएको भन्दै तर त्यसले समस्या समाधान नगर्ने बताएको छ।

लिथुआनिया

तस्बिर स्रोत, Getty Images

सो कदमका कारण लिथुएनिआका कम्पनीहरूले मूल्य चुकाउनु परिरहेको छ। लिथुएनिआका कम्पनी र त्यहाँका कम्पनीबाट पार्टपुर्जा खरिद गर्ने युरोपका अन्य कम्पनीहरूले चीनको व्यापारमा नियन्त्रण भोगेको बताएका छन्।

चीनले लिथुएनिआसँग व्यापार निषेध गर्न निर्देशन नदिएको बताएको छ तर युरोपेली युनियन ईयूले चीनले आयात रोकेको घटनाहरू पुष्टि गरेको बताएको छ। कूटनीतिक प्रयास सफल नभएमा चीनविरुद्ध विश्व व्यापार सङ्गठनमा उजुरी गर्ने ईयूले बताएको छ।

तर लिथुएनिआले चीनसँग नझुकेसम्म यसको सहज समाधान हुन गाह्रो छ।

नौसेडा र लिथुएनिआको सरकारले अहिलेसम्म चीनको दबावलाई झेलेका छन्। उनीहरूले चीनको ताइवान नीतिलाई सम्मान गर्ने बताउँदै ताइवानसँग सम्बन्ध राख्ने आफ्नो अधिकार भएको बताउने गरेका छन्।

तर पनि नौसेडाको 'गल्ती' शब्दले अहिलेसम्मको अडानमाथि प्रश्न चिन्ह खडा गरेको छ। उनले स्पष्ट रूपमा विदेशमन्त्रीलाई चीनसँगको तनाव कम गर्न निर्देशन दिएका छन्।

राष्ट्रपतिको प्रतिक्रियाले लिथुएनिआको विदेश नीति नेतृत्व गर्ने राष्ट्रपति र प्रधानमन्त्री इन्ग्रीडा सिमोनीटेबीचको शक्ति सङ्घर्ष पनि बाहिर ल्याएको छ।

सन् २०१९ मा नौसेडाले सिमोनीटेलाई राष्ट्रपतीय निर्वाचनमा पराजित गरेका थिए भने दुईबीच कोभिडको विषयमा पनि मतभिन्नता थियो।

लिथुएनिआको विदेश मन्त्रालयले बीबीसीलाई 'सरकार ताइवानलाई आफ्नो प्रतिनिधि कार्यालय खोल्न दिने कुरामा सरकारको अडान यथावत् रहेको' बताएको छ।

"प्रजातन्त्र र मानव अधिकारलाई विश्वव्यापी मान्यताका रूपमा समर्थन मिलीजुली सरकारको सहमति हो र यसले सरकारी कार्यक्रमको महत्त्वपूर्ण हिस्सा हो," एक प्रवक्ताले बताए।

लिथुएनीयाका राष्ट्रपति गीटानस नौसेडा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, लिथुएनिआका राष्ट्रपति गीटानस नौसेडाले आफ्नो देशको सो कदम राम्रो भएको विषयमा आशङ्का व्यक्त गरेका छन्

'सानो तर बहादुर'

लिथुएनिआ सन् १९९१ मा सोभियत युनियनबाट स्वतन्त्रता घोषणा गर्ने पहिलो राष्ट्र हो। सो कदमले मध्य र पूर्वी युरोपमा प्रजातन्त्रको लहर सुरु भएको थियो।

हालैका दिनमा लिथुएनिआ युरोपमा चीनको सबैभन्दा कडा आलोचनको रूपमा प्रस्तुत भएको छ।

ताइवानबारे निर्णयका लागि इतिहासले प्रेरित गरेको पूर्वप्रधानमन्त्री एन्ड्रीअस कुबिलिउस बताउँछन्।

"हामी सधैँ आफूलाई नैतिक सिद्धान्तमा उभिएको सानो तर बहादुर देशका रूपमा हेर्छौँ," उनले भने। "तर यो विषयमा हामीले कसरी कूटनीतिक नियम तोड्यौँ भन्ने मलाई थाहा छैन। यी विषयप्रति चीनको संवेदनशीलता उसको समस्या हो।"

यो विवादअघि लिथुएनिआले मध्य र पूर्वी युरोपेली देशहरूका लागि चीनको १७ + १ लगानी योजनाबाट आर्थिक फाइदा निराशापूर्ण रहेको भन्दै बाहिरिएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तियानआन्मेन नरसंहार

एक प्रतिशत निर्यात मात्रै चीनमा हुने हुँदा चीनसँगको विवादबाट सबैभन्दा कम दबाव पर्ने युरोपेली राष्ट्रमा लिथुएनिआ पर्ने बताइन्छ।

र यसको क्षतिपूर्ति आफैमा एक आर्थिक शक्ति रहेको ताइवानले गरिदिन सक्ने सङ्केत देखिएको छ। यही साता चीनमा निर्यात हुन लागेको २०,००० बोतल लिथुएनिआको रम ताइवानको सुर्ती र मदिरा कम्पनीले किनेको छ।

बुधवार ताइवानले लिथुएनिआमा २० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने योजना बनाइरहेको बताएको छ।

यसले चीनलाई अझ चिढ्याउने देखिएको छ। जसको सङ्केत नोभेम्बरमा ग्लोबल टाइम्समा प्रकाशित सम्पादकीयमा देखिएको थियो।

चीनको राज्य नियन्त्रित पत्रिकाको सम्पादकीयमा 'लिथुएनिआ जस्ता शक्तिले पश्चिमा विश्वको नेतृत्व लिएर एक चीन नीतिलाई विचलित' पार्ने कुनै अवसर नहुने लेखिएको थियो।

लिथुएनिआ "सङ्घर्ष गरिरहेको हात्तीको पैतालामुनिको एउटा मुसो वा अझ झिँगा मात्रै" हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कसरी बाँचे ताइवानी पदयात्री?