नेपाली कांग्रेस महाधिवेशनः शेखर कोइराला भन्छन्, 'म हारेर पनि जितेँ, शेरबहादुर देउवालाई साढे चार वर्षभन्दा एक दिन पनि चलाउन दिन्नौँ

Published

सत्ताधारी नेपाली कांग्रेसको यस पटकको महाधिवेशनबाट शेरबहादुर देउवालाई फेरि सभापति बन्न नदिने कुरा संस्थापन पक्षबाहेक अरू खेमाका नेताहरू गर्थे।

तर अन्तिममा उक्त खेमा छिन्नभिन्न हुँदा कांग्रेसको नेतृत्व पुन: देउवाको हातमा पुगेको छ।

उनलाई चुनौती दिएका डा. शेखर कोइरालालाई एकसाथ रहने ठानिएका नेताहरूले नै साथ दिएनन्, त्यसैले उनले हारे।

तर कतिपयले पार्टीभित्रको संस्थापनइतर खेमाको अगुवा बनेर उनले आफ्नो राजनीतिक उचाइ बढाएको टिप्पणी गरेका छन्।

कहिल्यै मन्त्री नबनेका र पार्टी पदाधिकारीमा चुनाव नलडेका कोइरालाले एक पटकको निम्ति सभापति बन्ने घोषणा गरेका थिए।

तर पराजित भएपछि आफ्ना मतदाताहरूलाई धन्यवाद दिने क्रममा उनले राजनीतिक यात्रा फेरि नयाँ ढङ्गले सुरु गर्ने बताए।

बीबीसीसँग कुरा गर्दै उनले देउवालाई अब "साढे चार वर्षभन्दा एक दिन पनि चलाउन दिन्नौँ" भनेका छन्।

देउवाको नेतृत्वमा पार्टी पारदर्शी नरहेको र पार्टी जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप कोइरालाले लगाएका छन्।

आफू देउवासँग पराजित हुनुको कारणबारे कोइरालाले भने, "म चुनाव हारेँ। मेरो आफ्नै कारण, मेरो समूहका कारण पनि हारेको हुँ।"

उनले कांग्रेसको निर्वाचनमा दक्षिणी छिमेकी भारतको चासोबारे सोधिएको एक प्रश्नको उत्तर दिँदै भने, "हाम्रो पार्टीको चुनावमा दक्षिण र उत्तर दुवैले चासो देखाउन जरुरी छ, देखाएको पनि होला।"

उनै नेता. डा शेखर कोइरालासँग बीबीसी नेपालीको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'का लागि शरद केसीले गरेको कुराकानी।

अनि यो पनि