सुमात्रा हात्तीः धरापमा परेर आधी सुँड चुँडिएपछि छावाको मृत्यु

आचे जयाका स्थानीय बासिन्दाले घाइते छावाको उद्धार गरेका थिए

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, आचे जयाका स्थानीय बासिन्दाले घाइते छावाको उद्धार गरेका थिए
Published

इन्डोनेशियामा अवैध सिकारीहरूले थापेको धरापमा परेर आधा सुँड गुमाएको एउटा छावाको मृत्यु भएको छ।

अतिसङ्कटापन्न सुमात्रा प्रजातिको हात्तीको उक्त छावा एक वर्षको थियो।

धरापमा परेको छावालाई हात्तीको बथानले छोडिदिएको थियो।

आचे जया नगरका स्थानीय बासिन्दाहरूले घाइते अवस्थामा त्यो छावालाई फेला पारेका थिए। उपचारका लागि उसलाई एउटा संरक्षण संस्थामा लगिएको थियो।

वन्यजन्तु संरक्षण अधिकारीहरूका अनुसार शल्यक्रिया गरी सुँड हटाएर उक्त छावाको जीवनरक्षा गर्न खोजिएको थियो। तर घाउमा सङ्क्रमण भएकाले दुई दिनपछि उसको मृत्यु भयो।

"घाउ गहिरो र सङ्क्रमण भएकाले हामीले उसलाई बचाउन सकेनौँ," आचे प्राकृतिक स्रोत संरक्षण संस्थाका प्रमुख आगुस आरिआन्तोले भने।

"हामीले सकेको गरेका थियौँ।"

सूँड चुँडिएको हात्ती

तस्बिर स्रोत, EPA

बोर्नियो र सुमात्रा क्षेत्रमा पाइने सुमात्रा प्रजातिको हात्ती अहिले वनविनाशका कारण गम्भीर सङ्कटमा परेको छ।

अवैध बजारमा हात्तीको दाह्राले ठूलो मूल्य पाउने भएकाले भाले हात्तीहरू अवैध सिकारीको तारोमा पर्ने गर्छन्।

अवैध सिकारसँग सम्बन्धित घटनामा हात्तीको मृत्यु भएको यो ताजा घटना हो।

गत जुलाई महिनामा दाह्रा निकालिएको र शिरबाट टाउको छुट्याइएको अवस्थामा एउटा वयस्क हात्तीको शरीर फेला परेको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, हात्तीका लागि बनाइएको पहिलो अस्पताल