अफगानिस्तान युद्धः तालिबान लडाकुलाई सहरमा छिर्न नदिन देशभरि एक महिना कर्फ्यू

अफगानिस्तान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, तालिबानले कब्जा गरेका जिल्ला आफ्नो नियन्त्रणमा ल्याउने प्रयास सरकारी फौजहरूले गरिरहेका छन्
Published

अफगान सरकारले तालिबानलाई सहरहरू कब्जा गर्न नदिन देशका अधिकांश भागमा एक महिना लामो कर्फ्यू घोषणा गरेको छ।

राजधानी काबुल र अरू दुईवटा प्रान्तबाहेक अन्यत्र राति १० बजेदेखि बिहान ४ बजेसम्म आउजाउमा प्रतिबन्ध लगाइएको छ।

देशबाट अन्तर्राष्ट्रिय सैनिकहरू फिर्ता भइरहँदा तालिबान र अफगान सरकारबीच पछिल्लो दुई महिनायता सङ्घर्ष बढिरहेको छ।

सो उग्रवादी समूहले देशको आधाजति भूभागमा नियन्त्रण कायम गरेको ठानिएको छ।

बीबीसीका अफगान संवाददाता सेकन्दर केर्मानीका अनुसार शान्तिवार्ताहरू सुस्त गतिमा अघि बढेकोमा चिन्ता व्यक्त भएको छ।

उनका अनुसार अबको लडाइँको केन्द्र बढी जनघनत्व भएका सहरी क्षेत्र हुनेछन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'म पनि मरेको भए हुन्थ्यो'

तालिबानलाई रोक्ने लक्ष्य

अतिवादी इस्लामिक लडाकु समूहको पहिचान बनाएको तालिबान २० वर्षअघि अमेरिका अफगानिस्तानमा प्रवेश गरेसँगै सत्ताबाट बाहिरिएको थियो।

तर अहिले तालिबानले प्रमुख सडकहरू कब्जामा लिएको छ र आपूर्ति कटौती गर्ने प्रयास गरिरहेको छ।

कैयौँ महत्त्वपूर्ण सहरनजिकै तालिबान लडाकुहरू पुगे पनि उनीहरूले अहिलेसम्म तिनमा नियन्त्रण कायम गर्न सकेका छैनन्।

आन्तरिक मामिला मन्त्रालयले नयाँ कर्फ्यूले हिंसालाई नियन्त्रण गर्ने र तालिबानको हिँडडुललाई सीमित तुल्याउने लक्ष्य लिएको जनाएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धः २० वर्षमा कति धनजनको क्षति भयो?

उसले काबुल, पान्जसिर र नाङ्गहारमा निषेधाज्ञा नलगाइने उल्लेख गरेको छ।

तालिबान लडाकुहरू अघि बढिरहँदा कान्दहारको बाहिरी क्षेत्रमा भीषण झडपहरू भएका छन्।

त्यसको प्रत्युत्तरमा अमेरिकाले उग्रवादीहरूलाई लक्षित गर्दै सो क्षेत्रमा बिहीबार हवाई आक्रमण गरेको थियो।

तर आगामी अगस्ट ३१ मा अफगानिस्तानमा अमेरिकी कारबाही समाप्त हुँदै गर्दा भविष्यप्रति चिन्ताहरू व्यक्त भएका छन्।

अफगानिस्तान

तस्बिर स्रोत, EPA

अमेरिकी नेतृत्वको फौजले सन् २००१ को अक्टोबरमा तालिबानलाई सत्ताबाट हटाएको थियो।

उक्त समूहले ओसामा बिन लादेन र सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गर्ने अरू व्यक्तिहरूलाई संरक्षण दिएको थियो।

राष्ट्रपति बाइडनले फौज फिर्तीको अमेरिकी निर्णय सही भएको उल्लेख गर्दै अफगानिस्तान पश्चिमा देशका लागि षड्यन्त्र गर्न विदेशी जिहादीहरूले प्रयोग गर्ने अखडा नबन्ने अमेरिकी सैनिकहरूले सुनिश्चित गरेको बताएका छन्।