तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नारायणगढ-मुग्लिन सडकको 'नयाँ-नयाँ ठाउँमा पहिरो'
- Author, ईश्वर जोशी
- Role, चितवन
- Published
सङ्घीय राजधानी काठमाण्डूलाई तराईसँग जोड्ने 'लाइफ-लाइन' मानिन्छ नारायणगढ-मुग्लिन राजमार्ग।
केही दिनयता ठाउँ-ठाउँमा पहिरो जाँदा त्यही सडक खण्डमा लामो समय सवारीसाधन रोकिनु परेको छ भने यात्रा जोखिमपूर्ण बनेको छ।
पहिरो पन्छाउने बित्तिकै लामो लाइनमा रहेका सवारीसाधन धमाधम अवरोध छल्ने हतारोमा देखिन्छन्।
तर केही घण्टामै फेरि त्यहीँ वा अर्को ठाउँमा पहिरो झर्दा यात्रा फेरि रोकिन्छ।
असारको सुरुदेखि परेको पानीले गर्दा दुई सातायता झन्डै-झन्डै नियमित दृश्य यस्तै छ।
गन्तव्यमा पुग्न हिँडेकाहरूको यात्रा अनिश्चित बन्ने गरेको छ।
नयाँ ठाउँमा नयाँ समस्या
जानकारहरूका अनुसार उक्त सडक खण्डमा वर्षा याममा पहिरो त जाने क्रम फेरि बढेको देखिन्छ तर दीर्घकालीन उपाय खोजेको पाइन्न।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्ण अधिकारीका भनाइमा उक्त सडक खण्डमा नयाँ-नयाँ ठाउँमा पहिरो जाने क्रमसँगै समस्या झन् बढेको हो।
उनले यसअघि कहिल्यै पहिरो गएको सेती दोभान र १४ किलो भन्ने ठाउँमा ठूलो पहिरो झरेको जानकारी दिए।
इन्जिनियर अधिकारीले भन्छन्, "उक्त स्थानमा पहाड नै तल खस्किएको छ र पानी पर्ने बित्तिकै ठूला-ठूला ढुङ्गा र माटोको लेदो झरेर बाटो नै बन्द हुन्छ।"
उक्त सडकको ४ किलो, ५ किलो र जलवीरे भन्ने ठाउँमा त पहिल्यैदेखि पहिरोले अवरोध खडा गर्दै आएको छ।
किन थपियो नयाँ समस्या?
ती ठाउँहरूमा गत बुधवारदेखि निरन्तर पहिरो झरिरहेको छ।
सेती दोभानको पहिरो पूर्ण रूपमा हटाउन त अझैँ केही दिन लाग्ने प्राविधिकहरूको भनाइ छ।
तर नयाँ ठाउँमा समस्या देखिनुको कारण के हो?
सडक विभागका अधिकारीहरूले त्यसमा स्थानीय तहलाई जिम्मेवार देख्ने गरेका छन्।
बिना योजना बनाइने सहायक बाटोले गर्दा पनि राजमार्गहरूको अवस्था बेहाल भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्ण अधिकारीले बीबीसीलाई बताए।
पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ-बुटवल खण्डमा पनि ठाउँ ठाउँमा पटक पटक बाटो अवरुद्ध हुने गरेको छ।
खास गरी पश्चिमबाट काठमाण्डू जानेहरूले त्यो पार गरेपछि सुरु हुन्छ त्यही पहिरो चक्र।
बुटवलबाट तेस्रो दिन सेती दोभानमा
एक जना गाडी चालक गोविन्द श्रेष्ठ पहिरोले बाटो थुनेको सेती दोभान नजिक भेटिए।
बुटवलबाट हिँडेको तेस्रो दिन ठाउँ ठाउँमा जाम र अवरोध पार गर्दै त्यहाँ पुगेको उनले सुनाए।
बागमती प्रदेश ट्राफिक कार्यालय रामनगरका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार लगातार पहिरो खस्दा यातायात सञ्चालनमा निकै कठिनाइ भएको छ।
"एक छिनमा खुल्छ, एक छिनमा बन्द हुन्छ", उनले भने, "सवारी साधनलाई पहिरो झरेको ठाउँबाट पार गराउन पनि जोखिम छ।"
दिनहुँ जसो सयौँ सवारी साधन र हजारौँ यात्रु लामो समय ठाउँ ठाउँमा अलपत्र पर्ने गरेका छन्।
पहिरो र अवरोध कुनै वर्ष कम कुनै वर्ष बढी होला तर बर्सेनि हुन्छ। तर स्थायी समाधान हुन सकेको छैन।