उत्तर कोरिया: परमाणु हतियार वृद्धि गर्ने किम जङ-अनको प्रण

आठौँ कंग्रेसमा बोल्दै किम जङ-अन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकाको उनको मुलुकप्रतिको नीति 'कहिल्यै परिवर्तन नहुने' बताएका छन्
Published

उत्तर कोरियाली नेता किम जङ-अनले अमेरिकालाई आफ्नो देशको सबैभन्दा ठूलो शत्रु भन्दै अमेरिकामा जो राष्ट्रपति बने पनि प्योङयाङप्रति वाशिङ्टनको नीति परिवर्तन हुने अपेक्षा आफूले नराखेको बताएका छन्।

उनको सत्तारूढ वर्कर्स पार्टीको विरलै हुने राष्ट्रिय सम्मेलनमा बोल्दै किमले उत्तर कोरियाको परमाणु अस्त्र र सैन्य शक्ति थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पानीमुनि चल्ने परमाणु जहाज (न्यूक्लियर सबमरिन) बनाउने आफ्नो योजना करिब करिब पूर्ण भएको बताए।

अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडनले शपथ लिने दिन नजिकिएका बेला उनको प्रतिक्रिया आएको छ।

विश्लेषकहरू किमको टिप्पणी अमेरिकी नयाँ राष्ट्रपतिमाथि दबाव पुर्‍याउने प्रयत्न भएको ठान्छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पसँग किमको न्यानो सम्बन्ध रहे पनि ट्रम्पको कार्यकलमा उत्तर कोरियाको पारमाणविक कार्यक्रम नियन्त्रण गर्नेबारे खासै ठोस प्रगति भएन।

वर्कर्स पार्टीको आठौँ कंग्रेसमा 'शत्रु शक्तिले' उत्तर कोरियाविरुद्ध प्रयोग नगरेसम्म प्योङयाङले आणविक हतियार प्रयोग नगर्ने उनले बताए।

किमले "उत्तर कोरियाली क्रान्तिका लागि सबैभन्दा ठूलो अवरोध र सबैभन्दा ठूलो शत्रु अमेरिका हो, त्यहाँ जो सुकै शक्तिमा आए पनि उत्तर कोरिया प्रतिको नीतिमा कुनै परिवर्तन हुँदैन" भनेको राज्य सञ्चालित समाचार एजेन्सी केसीएनले जनाएको छ।

उनको भाषणमा लामो दूरीको ब्यालिस्टिक मिसाइल सहित केही परमाणु हतियारको सूची प्रस्तुत गरिएको थियो।

कडा आर्थिक प्रतिबन्ध लगाइएको भए पनि परमाणु हतियार विकासमा उत्तर कोरियाले महत्त्वपूर्ण प्रगति गरेको बताइन्छ।

यो हप्ताको शुरूमा किमले उनको पाँच वर्षे आर्थिक योजना सबैजसो क्षेत्रमा विफल भएको बताएका थिए।

उत्तर कोरियाले गत ज्यानुअरीमा कोभिड-१९ फैलिन नदिन भन्दै आफ्नो सीमा बन्द गरेको छ।

उसको छिमेकी तथा समर्थक चीनसँगको व्यापार ८० प्रतिशतले घटेको छ। आँधी र बाढीले उत्तर कोरियामा घरहरू र बाली ध्वस्त पारेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाको भूमिमा डोनल्ड ट्रम्प