कोरोनाभाइरस: सङ्क्रमणको त्रास कायमै रहेका बेला, के नेपाल-चीन नाका सञ्चालनमा आउलान्

केरूङ
Published

नेपाल र चीनबीच ठप्प रहेको व्यापार अर्को साताबाट सुरु हुने उद्योगीहरूले बताइरहँदा सरकारी अधिकारीहरूले भने तातोपानी र रसुवागढी नाकाको सञ्चालनबारे अझै अन्यौल रहेको बीबीसीलाई बताएका छन्।

ती दुई प्रमुख नाका चिनियाँ पक्षद्वारा नै सुरुमा चिनियाँ नयाँ वर्षका लागि भन्दै १५ दिन बन्द गराएका थिए।

तर कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँगै ती नाकाहरू ठप्प हुँदा नेपालमा सुनदेखि लसुनसम्म महँगो भएको विवरण आएका छन्।

चीनबाट आउने मानिसहरूको नाकामै स्वास्थ्य परीक्षणको व्यवस्था भएपछि त्यसबारेमा निर्णय लिइने नेपाली अधिकारीहरूले बताएका छन्।

नाका खुल्ने अपेक्षा

नेपाल र चीन जोड्ने प्रमुख नाका तातोपानी र रसुवागढी गत माघ १५ गते देखि चिनियाँ पक्षको आग्रहमा १५ दिनका लागि बन्द गरिएका थिए।

तर नाका बन्द भएको झन्डै १ महिना पुग्न लाग्दा नाकाहरूबाट सामानको आयात निर्यात हुन सकेको छैन।

चीन

तस्बिर स्रोत, .

नेपाल चीन उद्योग व्यापार सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरले ल्होसार पर्वका कारण यो साता तिब्बतमा बिदा रहेको र अर्को हप्ताबाट तातोपानी र रसुवागढी नाका खुल्ने आफूहरूले अपेक्षा गरेको बताए।

उनी भन्छन् "हामीले साङ्घाई नजिककै यीउ भन्ने स्थानको ठूलो अन्तर्राष्ट्रिय थोक विक्रेता र ग्वान्जाओका चिनियाँ विक्रेताहरूलाई सामान पठाउन भनिसकेका छौँ। उनीहरूले बुकिङ्ग गर्न थालेका छन् र त्यहाँबाट एक हप्तामा नेपालमा सामान पठाउन सक्छौँ भनिरहेका छन्।"

तुलाधारका अनुसार चिनियाँहरूले खाद्य सामग्रीहरू आपूर्ति नगर्ने र आपूर्ति गर्ने सामग्रीहरूमा विशेष किसिमको स्प्रे छर्केर कोरोनाभाइरस सङ्क्रमण फैलन नदिने जानकारी दिएको बताए।

चिनियाँ अर्थमन्त्रालयले नै तेश्रो देशसँगको व्यापार 'आक्रामक' रूपमा पुन: अघि बढाउन चाहिरहेको उल्लेख गर्दै उनले नेपालका सीमा नाकाहरू चाँडै खुल्ने आशा व्यक्त गरे।

अन्योल यथावत

तर रसुवाकी सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले नाकामा गरिने स्वास्थ्य परीक्षणको तयारी जस्ता कारणले थप १ हप्ता नाका खुल्न नसक्ने चिनियाँ पक्षलाई जानकारी गराएको बताइन्।

उनले भनिन्, "सवारी साधनलाई एक हप्ता आवतजावत गर्न नदिउँ भनेर यतैबाट हामीले अनुरोध गरेका हौँ। थप निर्णय भएको छैन। हामीलाई सुविधा सम्पन्न क्वारन्टीन कक्ष बनाउन प्रदेश सरकारले ४० लाख रूपैयाँ पठाएको छ। पूर्वाधार बनाएर मात्रै खोल्ने कि भन्ने आशय मन्त्रालयबाट पनि व्यक्त भएको छ।

तातोपानी नाकाका अधिकारीहरूले पूर्वाधार निर्माण बाहेक भन्सार कार्यालय पार गरेर भित्र्याउने सामानबाट उक्त भाइरस सर्छ वा सर्दैन भन्ने बारेमा सरकारले आफूलाई आश्वस्त पार्नुपर्ने बताइरहेका छन्।

तातोपानी

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबाबु खत्री भन्छन्, "मुख्य समस्या नेपाल भित्रिने समानहरूलाई व्यक्तिले नै गाडीमा लोड अनलोड गर्ने गरिरहेको हुन्छ। सामानको माध्यमबाट भाइरस सर्ने सम्भावना हुन्छ कि हुँदैन भन्नेबारे अन्योल भयो। त्यसबारे माथिल्लो तहमा पनि छलफल भइरहेको छ, विज्ञ समूहले पनि केही भन्नुहोला। त्यो निधो भएपछि मात्रै खोल्ने होला।"

नाका सञ्चालन गर्नका लागि आवश्यक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले त्यस्तो परीक्षण गर्ने व्यवस्था भएपनि तत्कालका लागि आवश्यक चिकित्सक नभएको र छिट्टै व्यवस्था गरिने जवाफ दिएको बुझिएको छ।

नेपालमा खासगरी चीनबाट विद्युतीय उपकरण र लत्ताकपडाको धेरै आयात हुन्छ।

कोरोना सङ्क्रमणका कारण आयातसँगै आवतजावत ठप्पहुँदा चिनियाँ श्रमिक संलग्न रहेका केही महत्त्वपूर्ण आयोजनाको निर्माण समेत प्रभावित भएका छन्।