फेसबुकले आपत्तिजनक शब्द अनुवाद भएकोमा चिनियाँ राष्ट्रपतिसँग माफी माग्यो

Published

बर्मेली भाषाबाट अङ्ग्रेजीमा अनुवाद गर्दा चिनियाँ राष्ट्रपति सी जिन्पिङको नाममा आपत्तिजनक शब्द प्रयोग भएपछि फेसबुकले माफी मागेको छ।

म्यानमारको राजकीय भ्रमणको दोस्रो दिन सीको नाम अनुवादमा भएको त्रुटि प्रकाशमा आएको हो।

शनिवार सीले म्यानमारकी नेतृ आङ साङ सू चीसँग भेट गरेका थिए र सो बारेमा फेसबुकको बर्मेली भाषामा राखिएको पोस्ट अङ्ग्रेजीमा अनुवाद गर्दा गल्ती भएको थियो।

सीको नाममा 'सीटहोल' अर्थात् शौचालय भन्ने भाव रहेको शब्द अनुवाद भएको थियो।

सू ची र उनको कार्यालयले गरेका फेसबुक पोस्टमा त्यस्तो गल्ती भएको हो।

फेसबुकले एउटा विज्ञप्ति मार्फत शनिवार त्यो घटनालाई सम्बोधन गरेको थियो र गलत अनुवादका लागि "प्राविधिक कारण"लाई जिम्मेवार ठहराएको थियो।

"हामीले बर्मेलीबाट अङ्ग्रेजी अनुवादमा असर पारेको प्राविधिक विषय हल गरेका छौँ," फेसबुकका प्रवक्ता एन्डी स्टोनले भने।

"यस्तो हुनु हुँदैन थियो र यो फेरि नहोस् भन्नका लागि हामी आवश्यक कदम चाल्दैछौँ।"

बर्मेली भाषा म्यानमारको आधिकारिक भाषा हो र यो भाषा त्यहाँ दुई तिहाइ जनसङ्ख्याले बोल्छन्।

बर्मेलीबाट अङ्ग्रेजीमा अनुवाद हुने डेटाबेसमा सीको नाम समावेश नगरिएको फेसबुकले स्वीकार गरेको छ।

कुनै शब्दबारे तथ्याङ्क फेला नपरेको खण्डमा फेसबुकको प्रणालीले त्यसको अनुवादको अनुमान लगाउँछ।

त्यसपछि अनुमान गर्न मिल्दोजुल्दो अक्षरहरूको प्रयोग गरिने फेसबुकले बताएको छ।

"हामी बर्मेलीबाट अङ्ग्रेजी अनुवादमा देखा परेको समस्याबारे जानकार छौँ र यसको हल चाँडोभन्दा चाँडो गर्न लागि परेका छौँ," स्टोनले थपे।

सूचना प्रवाहमा सरकारी नियन्त्रण रहेको चीनमा फेसबुकमा भएको त्यो गल्ती सेन्सर गरेको बताइएको छ।