डोनल्ड ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको ठहर, २० लाख डलर तिर्न आदेश

'द डोनल्ड जे ट्रम्प फाउन्डेसन' नाम गरेको परोपकारी संस्था सन् २०१८ मा बन्द गरिएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, 'द डोनल्ड जे ट्रम्प फाउन्डेसन' नाम गरेको परोपकारी संस्था सन् २०१८ मा बन्द गरिएको थियो।
Published

परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै एउटा अदालतले न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफैँले स्थापना गरेको उक्त संस्थाको रकम खर्च गरेको न्यूयोर्ककी एक न्यायाधीशले ठहर गरेकी हुन्।

ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि 'द डोनल्ड जे ट्रम्प फाउन्डेशन' सन् २०१८ मा बन्द गरिएको थियो।

ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेश न्यायाधीश सालियान स्कार्पलाले दिएकी छन्।

ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने स्कार्पलाको आदेशमा उल्लेख छ।

जरिबाना बापतको रकम ट्रम्पले आफ्नो कुनै पनि किसिमको सम्बन्ध नभएका आठ परोपकारी संस्थालाई दिनुपर्नेछ।

तस्बिर स्रोत, Getty Images

पूर्वसैनिकहरूका लागि सङ्कलन गरिएको रकम निर्वाचन अभियानका लागि उपलब्ध गराएर ट्रम्पले संरक्षकको कर्तव्य उल्लङ्घन गरेको स्कार्पलाको आदेशमा उल्लेख छ।

अदालतको फैसलालगत्तै न्यूयोर्ककी महान्यायाधिवक्ता लतिशा जेम्सले राष्ट्रपति ट्रम्पका दुई छोरा डोनल्ड ट्रम्प जुनिअर र एरिक ट्रम्प तथा छोरी इभान्का ट्रम्पले परोपकारी संस्थाका पदाधिकारी र निर्देशकहरूको कर्तव्यबारे अनिवार्य रूपमा तालिम लिनुपर्ने बताइन्।

सरकारी अभियोजनकर्ताहरूले अघि बढाएको मुद्दा ट्रम्पले तोकिएको रकम तिरेपछि मात्रै टुङ्गिने बताइएको छ।

ट्रम्प र उनका वकिलहरूले भने उक्त मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन्।