ट्रम्पले के कारण टर्कीलाई दिए अर्थतन्त्र सखाप पारिदिने चेतावनी

सेना
Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टर्कीको अर्थतन्त्रलाई सखाप पारिदिने चेतावनी दिएका छन्।

उत्तर-पूर्वी सिरियाबाट अमेरिकी फौजलाई फिर्ता लैजाने उनले लिएको आश्चर्यपूर्ण निर्णयको टर्कीले फाइदा उठाउन खोजे आफूले कडा कदम चाल्ने चेतावनी उनले दिएका हुन्।

ट्रम्पको भनाइ

टर्कीले उसको सीमा पार सिरियाली क्षेत्रमा रहेका कुर्द फौजमाथि पहिले देखि उसले चाहना गर्दै आएको हमला गर्ने योजना गरिरहेको छ।

ट्रम्पले अङ्काराले ज्यादती गरे उसको अर्थतन्त्र सखाप पारिदिने चेतावनी दिएका छन्।

उनले आफ्नो उद्देश्य अमेरिकी फौजलाई घर फिर्ता ल्याउनु रहेको बताए।

उनले भने, "हामी ७ हजार माइल पर छौँ। यी आइएसका मान्छे यी सबै त्यहीँ वरपर छन्। त्यहीँका देशहरूमा छन्। इरानले आइएसलाई घृणा गर्छ र आइएसले पनि इरानलाई घृणा गर्छ। इराक सिरिया टर्की त्यहीँ छन्। उनीहरूले आइएससँग लडुन्। हामी त हाम्रा फौजलाई फिर्ता ल्याउन चाहन्छौँ।"

राष्ट्रपति ट्रम्पले आफू सो क्षेत्रमा अमेरिकी फौज अर्को ४० वर्ष रहोस् भन्ने नचाहेको बताए।

'पीठमा छुरा'

सिरियामा इस्लामिक स्टेट आइएसलाई पराजित गर्ने लडाइँमा कुर्दिश फौज अमेरिकी नेतृत्वको गठबन्धनको एक मुख्य सहयोगी थियो।

सिरियामा अमेरिकाका करिब १ हजार फौज छन्। विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार सीमा क्षेत्रबाट दुई दर्जन फिर्ता लगिसकिएको छ।

ट्रम्प

तस्बिर स्रोत, Getty Images

अमेरिकी सेना फिर्ता लगिने निर्णयलाई प्रमुख कुर्द समूहले 'पीठमा छुरा' हानिएकोसँग तुलना गरेको छ।

यसबीच अमेरिकी फौज फिर्ता भएको ठाउँहरूमा कुर्दिश फौजले आफ्ना लडाकू तैनाथ गर्न थालेको छ।

टर्की-सिरिया सीमा क्षेत्रस्थित बीबीसी सम्वाददाता भन्छिन् कुर्दिश फौज अहिले आफू निकै खतरामा परेको अनुभव गर्दैछ।

आइएसलाई हराउन त्यत्रो बलिदान दिएपनि अहिले अमेरिकाले धोका दिएको उनीहरूले बताएका छन्।

सम्वाददाताका अनुसार कुर्दिश फौज ठान्छ उनीहरूमाथि हुने टर्कीको आक्रमणले आइएसलाई पुन: उदय हुने मौका प्रदान गर्नेछ।

टर्कीले कुर्द समूहलाई आतंकवादी मान्छ।

तर राष्ट्रपति ट्रम्पले टर्कीलाई आफ्नो निर्णयको गलत फाइदा नउठाउन सचेत गराएका छन्।

अन्यथा गरे टर्कीको अर्थतन्त्र ध्वस्त र सखाप पारिदिने चेतावनी उनले दिएका छन्।

उनले रक्षा मन्त्रालय पेन्टागन तथा विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सुझाव विपरीत सो निर्णय लिएको ठानिएको छ।

विदेश नीतिमा अन्तरविरोध?

गत वर्ष अमेरिकाले टर्कीका केही वस्तुमाथि कर थपिदिएको थियो।

साथै यी दुई नेटो सदस्य राष्ट्रमाझ तनाव बढ्दै गर्दा अमेरिकाले टर्कीका वरिष्ठ अधिकारीहरूमाथि प्रतिबन्ध लगायो।

टर्कीका राष्ट्रपति रेजेप ताय्यिप अर्दोआनले उनको उद्देश्य सीमा क्षेत्रमा रहेका कुर्दिश लडाकूहरूसँग लडेर त्यहाँ हाल टर्कीमा रहेका ३६ लाख सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको बताएका थिए।

बीबीसीका रक्षा सम्वाददाता जनाथन मार्कस भन्छन् पछिल्ला घटनाक्रमले विदेश नीतिमा कुनै प्रस्टता देखिँदैन।

"त्यसको साटो बरु राष्ट्रपतिका श्रृङ्खलाबद्ध ट्वीट आउँछन् र उनको निर्णय अनि विदेशमन्त्रालय र रक्षामन्त्रालयको भनाइ विपरीत लाग्छन्।"