उत्तर कोरियाद्वारा नयाँ प्रकारको क्षेप्यास्त्र परीक्षण

दक्षिण कोरिया

तस्बिर स्रोत, European Photopress Agency

Published

उत्तर कोरियाले दुई छोटो दुरीका क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको दक्षिण कोरियाको सैन्य प्रमुखले बताएका छन्।

बिहीवार बिहान ती क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वमा रहेको ओन्सानबाट प्रक्षेपण गरिएको बताइएको छ।

एक अधिकारीका अनुसार ६ सय ९० किलोमिटर पर पुगेको एउटा क्षेप्यास्त्र नयाँ प्रकारको थियो।

गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग किम जङ-अनले अचानक भेटेपछि उत्तर कोरियाले गरेको पहिलो क्षेप्यास्त्र प्रहार हो।

अमेरिकाले बर्सेनि दक्षिण कोरियासँग गर्ने संयुक्त सैन्य अभ्यासको बारेका उत्तर कोरियाले आक्रामक प्रतिक्रिया दिएपछि यो परीक्षण गरिएको हो।

उत्तर कोरियाले सैन्य अभ्यासले पारमाणिक निशस्त्रीकरण वार्तालाई असर पुर्‍याउन सक्ने बताएको छ।

Map

दक्षिण कोरियाका अनुसार पहिलो क्षेप्यास्त्र बिहान ५:३४ मा र दोस्रो ५:५७ मा प्रक्षेपण भएको हो।

शुरूमा दुवै क्षेप्यास्त्र लगभग ४ सय ३० किलोमिटर पर र ५० किलोमिटर उचाइमा पुगेर सी अफ जापान भनिने पूर्वी समुन्द्रमा खसेको थियो।

तर दक्षिण कोरिया र अमेरिकाले गरेको विश्लेषणपछि तीमध्ये कम्तीमा एउटा नयाँ प्रकारको क्षेप्यास्त्र भएको बताइएको छ।

जापानका रक्षामन्त्रीले ती क्षेप्यास्त्रहरू जापानी समुन्द्री सीमामा नपुगेको र राष्ट्रिय सुरक्षामा तत्काल कुनै खतरा नपारेको बताएका छन्।

किम

तस्बिर स्रोत, European Photopress Agency

उत्तर कोरियाले आगामी महिना हुने भनिएको अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासको भर्त्सना गरेको छ र त्यसलाई गत वर्ष किम र ट्रम्पबीच भएको वार्तापछिको संयुक्त वक्तव्यको मर्म विपरीत भएको बताएको छ।

अमेरिका र दक्षिण कोरियाले सो अभ्यासलाई नरोकेपनि त्यसलाई सानो बनाइएको छ।

गत वर्ष, किमले उत्तर कोरियाले पारमाणिक हतियार परीक्षण रोक्ने र अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण नगर्ने बताएका थिए।

तर गत महिना अन्तरिक्षबाट खिचिएका तस्बिरहरूमा पारमाणिक केन्द्रहरूमा काम भइरहेको देखिएको छ।