बालुवाटार जग्गा प्रकरणको अनुसन्धान 'छिट्टै टुङ्गोमा'

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

तस्बिर स्रोत, CIAA/FACEBOOK

Published

काठमाण्डूको बालुवाटारस्थित सरकारी जग्गा हिनामिनासम्बन्धी बहुचर्चित प्रकरणबारे आफूले गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

एउटा सरकारी समितिको प्रतिवेदनले बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा शक्तिको दुरुपयोग गरेर किनबेच भएको ठहर गरेपछि सरकारले अनुसन्धानका लागि सो संवैधानिक आयोग र प्रहरीको एउटा विशेष निकायलाई निर्देशन दिएको थियो।

आयोगका प्रवक्ता प्रदीप कोइरालाले भने, "कति जनालाई सोधपुछ गरियो, कति जनालाई बयान लिइयो भनेर अनुसन्धानको विधि र प्रक्रियाको विषय बोल्न मिल्दैन। तर हामीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएका छौँ।"

उनले भने, "अब हामी चाँडै निष्कर्ष निकाल्दैछौँ।"

तर अनुसन्धानको टुङ्गो लाग्ने समयसीमाबारे उनले केही उल्लेख गरेनन्।

चुनौतीपूर्ण

आयोगले असारको दोस्रो साता बयान लिन विभिन्न व्यक्तिहरूको नाममा सार्वजनिक सूचना जारी गरेको थियो।

गोरखापत्रमा ८६ जनाको नामसहित सार्वजनिक सूचना जारी गर्दै आयोगले सात दिनभित्र उपस्थित नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको थियो।

उक्त जग्गा बेचबिखनमा सत्ताधारी दलका समेत प्रभावशाली नेताहरू र अन्य उच्च अधिकारीहरूको नाम मुछिएको छ।

त्यसैले पनि धेरैले यो प्रकरणमा अख्तियारको छानबिनप्रति चासो राखेको पाइन्छ।

तर शक्तिशाली नेताहरू नै मुछिएकाले छानबिन निष्पक्ष हुनेमा कैयौंले आशङ्का व्यक्त गरिरहेका छन्।

त्यसैले पनि अख्तियारको निम्ति त्यसबारेको अनुसन्धान आफ्नो विश्वसनीयताको निम्ति पनि चुनौतीपूर्ण रहेको ठानिएको छ।