नेपाल मनसुन: वर्षासँगै विभिन्न स्थानमा एक्कासि बाढी आउनसक्ने पूर्वानुमान

गण्डकी प्रदेशमा मर्स्याङ्दी नदी किनारको एक बस्ती

तस्बिर स्रोत, Surendra Phuyal/BBC

तस्बिरको क्याप्शन, गण्डकी प्रदेशमा मर्स्याङ्दी नदी किनारको एक बस्ती। ठूलो बाढीका बेला यहाँ जोखिम बढ्ने गर्छ।
Published
पढ्ने समय: २ मिनेट

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार र शनिवार पूर्वी, मध्य र पश्चिम नेपालका केही साना नदीनालामा पानीको बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आउने २४ घण्टा देशको पूर्वदेखि पश्चिमसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

बाढी पूर्वानुमान महाशाखाले शुक्रवार एक बुलेटिन जारी गर्दै प्रदेश १, प्रदेश ३, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानका ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।

बुलेटिनमा भनिएको छ, "नदी तटीय क्षेत्रमा वर्षा भईराख्दा सतर्क रहौँ।"

कसरी गरिन्छ पूर्वानुमान?

महाशाखाका जलविद् विनोद पराजुलीका अनुसार नेपालका विभिन्न स्थानमा जडित वर्षा तथा नदीको बहाव मापन यन्त्रले तत्कालै पठाएका तथ्याङ्कको विश्लेषणका आधारमा बाढी पूर्वानुमान गरिएको हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

Presentational white space

तथ्याङ्क सङ्कलन गर्न अहिले विभिन्न स्थानमा ७३ वटा बहाव मापन यन्त्र र ८९ वटा स्थानमा वर्षा मापन केन्द्र उपलब्ध छन्।

पराजुलीले भने, "आउने दिनमा मनसुनी वर्षा हुने क्रम क्रमश: बढ्दै जाने देखिन्छ। त्यसैले तटीय क्षेत्रमा बसोबास गर्ने समुदायहरूलाई बाढी पूर्वानुमानको जानकारी तत्कालै दिने र सचेत गर्ने (सङ्घीय, प्रादेशिक र स्थानीय) संयन्त्रलाई अहिले सक्रिय अवस्थामा राखिएको छ।"

उनका अनुसार पानीको बहाव बढ्न सक्ने पूर्वी, मध्य र पश्चिम नेपालका साना मझौला र ठूला नदीको बहावको अवस्थाबारे चुरेदेखि दक्षिणतिरका तराई क्षेत्र र सीमावर्ती भारतीय राज्यका अधिकारीहरूलाई समेत सचेत गराइसकिएको छ।

बाढीको सम्भावना कहाँकहाँ?

बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानसम्म "प्रदेश १, २ र ३ को चुरे र तराईबाट बहने केही साना नदीहरूमा पनीको बहाव तुलनात्मक रूपमा उल्लेख्य बढ्ने सम्भावना" छ।

रामेछाप जिल्लामा तामाकोशी नदी किनारका बस्ती

तस्बिर स्रोत, Surendra Phuyal/BBC

तस्बिरको क्याप्शन, रामेछाप जिल्लामा तामाकोशी नदी किनारको एक बस्ती
Presentational white space

शनिवार बिहानसम्मको अवधिमा "प्रदेश १ को इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, खोटाङ, प्रदेश ३ को काभ्रेपलान्चोक, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, स्याङ्जा र प्रदेश ५ को रुकुम जिल्लाका केही ससाना खोलामा उल्लेख्य बहाव बढ्ने तथा एक्कासि बाढी आउन सक्ने सम्भावना छ।"

तर ती क्षेत्रका ठूला नदीमा ठूलो बाढीको सम्भावना नरहेको बताइएको छ।

महाशाखाका अनुसार आइतवार बिहानसम्म कोसी, नारायणी, कर्णाली, महाकाली जस्ता प्रमुख नदी तथा कन्काई, कमला, वाग्मती, पश्चिम रापती, बबई लगायतमा मझौला नदीहरूमा पानीको बहाव केही बढे पनि त्यो सतर्कताको तहभन्दा तलै रहने छ।

जोखिम कस्तो?

आइतवारसम्म कुनैकुनै स्थानमा साना नदीरूमा आकस्मिक बाढीको जोखिम रहे पनि ठूला नदीमा बाढीको खतरा नरहेको महाशाखाले जनाएको छ।

तर महाशाखाका जलविद् विनोद पराजुली भन्छन्, "प्रदेश १, २, ३ र ५ का खासगरी चुरे र दक्षिणी क्षेत्रमा चुरे क्षेत्रबाट बहने नदीहरूमा एक्कासि बाढी आउन सक्ने सम्भावना छ। त्यसैले ती क्षेत्रमा पानी पर्दा नदी तटीय क्षेत्रमा नजानु नै उत्तम हुन्छ।"

आउने साताको अन्त्यतिरबाट देशमा वर्षा हुने क्रम अझै बढ्ने सम्भावना छ।

त्यतिबेलाको स्थिति हेरेर बाढी पूर्वानुमान महाशाखाले सचेतना र सतर्कताका लागि नयाँ बाढी पूर्वानुमान बुलेटिन जारी गर्नु पर्न सक्ने अवस्था आउने अनुमान गरेको छ।