रोजा व्रत बस्ने हिन्दु युवती भन्छन: गरिबको पीडा बोध भयो

    • Author, विमला चौधरी
    • Role, बीबीसी नेपाली सेवा
  • Published

नेपालगञ्जका दुई हिन्दु महिला पूजा केसी र लक्ष्मी भट्टराईले पहिलोपटक रमजानमा रोजा बसेका छन्।

गैर मुस्लिम भएपनि रोजा बसेका उनीहरूले व्रतबाट नयाँ अनुभव बटुलेको बताएका छन्।

मुसलमानहरूले एक महिनासम्म निराहार व्रत बस्ने भएपनि केसी र भट्टराईले भने १० दिनको फरकमा तीन दिन मात्र रोजा बसेका हुन्।

रोजा हिन्दु व्रतभन्दा कठोर लागेको र गरिवहरूको पीडा बोध गराएको उनीहरूले बताएका छन्।

हिन्दु व्रतभन्दा कठोर

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ निवासी केसीले हिन्दु संस्कारको व्रतभन्दा रोजा निकै कठोर लागेको बताइन्।

केसीले बीबीसी नेपाली सेवालाई भनिन्: "हिन्दु परम्परा अनुसार निर्जल र जलाधार दुबै व्रत बस्न सकिन्छ तर रोजामा १७ घण्टासम्म खान वा सुत्न पाइदैन्। निरन्तर नमाज पाठ गर्नुपर्छ। यो मेरो नयाँ अनुभव हो।"

सुर्खेतमा पनि घर भएकी २३ बर्षीया केसीले नेपालगञ्ज कहिलेकाँही मात्र बस्ने भएपनि आफू इस्लाम धर्मबारे जान्ने उत्सुक्ता जागेर रोजा बसेको बताइन्।

उनले भनिन्: "हाम्रो हिन्दु परम्परा अनुसार कहिले श्रीमानको लागि, कहिले सन्तानको लागि त कहिले परिवार सुखशान्तिको लागि व्रत बस्छौँ तर रोजा सबैका लागि र आफ्नो लागि पनि रहेको थाहा पाएँ।"

परिवार सहयोगी

ईद गरिब र असहायहरूलाई सक्दो दान दिने पर्व रहेकाले व्रत बस्दा गरिब दुखीको पीडा बोध भएको केसीले सुनाइन्।

पहिलो दिन मुसलमान साथीलाई सोधेर घरमै व्रत बस्दा घरपरिवारले के को व्रत र कस्को लागि भनेर सोधेको तर रोकतोक नलगाएको केसीले बताइन्।

उनले दोस्रो र अन्तिम रोजा भने साथीकै घरमा बसेकी थिइन्।

रोजा बस्दा हिन्दु परम्परा अनुसार बिहान सूर्यलाई जल चढाएको उनले बताइन्।

ब्राहमणकी छोरी

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ बेलासपुर निवासी २४ बर्षीया लक्ष्मी भट्टराईले पनि रमजान महिनाभरि तीन दिन रोजा बसिन्।

कट्टर ब्राहमणकी छोरी भएपनि लामो समयदेखि मुस्लिम समुदायको बीचमा बसोबास गरेकाले रोजा बस्न खासै अप्ठेरो नलागेको भट्टराईको भनाइ छ।

उनले भनिन्: "गत बर्ष नै रोजा बस्ने ठूलो इच्छा थियो तर पढाइ र कामको चापले बस्न सकिन्। यसपटक रोजा बसेरै छाडेँ। आगामी वर्ष महिनाभर रोजा बस्छु।"

रोजा बस्दा घरपरिवारबाट कुनै बाधा अवरोध नआएको उनले बताइन् ।

नौलो होइन

नेपालगञ्जमा एक समुदायले अर्को समुदायको धर्म र संस्कारलाई सम्मान गर्ने भएकाले हिन्दुले रोजा बस्नु कुनै नौलो कुरा नभएको केसी र भट्टराई बताउँछन्।

भट्टराईले भनिन्: "छिमेकी सबै मुस्लिम छन्। बुवाको र आफ्ना सबै साथीहरू मुस्लिम नै छन्।"

"त्यसैले हाम्रो दशैंतिहारमा उनीहरु आउँछन् भने ईद हामी उनीहरूको घरमा गएर मनाउँछौँ।"