भेनेजुएला: के मदुरोले भनेजस्तै अमेरिकी सेना अतिक्रमण योजनामा छ?

अमेरिकी सेना

तस्बिर स्रोत, AFP

Published

मानवीय सहायता सामग्री वितरणलाई लिएर भेनेजुएलामा विवाद चर्किएको छ।

ठूलो परिमाणमा त्यस्ता सामग्री बोकेका अमेरिकी सैनिक विमान सिमानामा रहेको कोलम्बियाली नगरमा ओर्लिएका छन्।

विपक्षी नेता ह्वान ग्वाइदोले अर्को शनिवारदेखि ती सामग्री देशभर वितरण गर्न ६ लाख स्वयंसेवक खटाउने घोषणा गरेका छन्।

तर राष्ट्रपति मदुरो चाहिँ यी सामग्री वितरण बहाना मात्र भएको र यो केवल अमेरिका र कोलम्बियाको युद्ध योजनाको एउटा पाटो रहेको ठान्छन्।

अमेरिकाले सैन्य अतिक्रमण गर्न लागेको उनी बताउँछन्।

शुक्रवार उनले अमेरिकी 'युद्ध योजना' तिर औँल्याउँदै सेनालाई उच्च सतर्कतामा रहन आह्वान गरे।

अमेरिकाले भने हाल उसले त्यहाँ मानवीय संकट रहेकोले राहत सामग्री पठाउनु परेको बताएको छ।

तर केही समयअघि राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाबारे अमेरिका सामु सैनिक विकल्प सहित थुप्रै विकल्पहरू रहेको बताएका थिए।

कहाँ आए सामग्री

सहायता सामग्री

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सहायता सामग्री निरीक्षण गरिँदै

भेनेजुएलाका लागि मानविय सहायता सामग्री बोकेका अमेरिकी सेनाका विमानहरु कोलम्बियन सीमा शहर कुकुटा आइपुगेका छन्।

ती सामग्री गत महिना आफूलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता ह्वान ग्वाइदोको आग्रहमा त्यहाँ पुर्‍याइएको हो।

ग्वाइदोले आगामी शनिवार भेनेजुएलाका स्वयंसेवकहरूले ती सामग्रीलाई सीमा कटाएर देशमा भित्र्याउने बताएका छन्।

कुकुटामा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी सहायता नियोग युएस एडका प्रमुख मार्क ग्रिनले भने— बढ्दो मानवीय संकटको चपेटामा रहेको भेनेजुएलाका लागि ग्वाइदोले यस्तो सहायता मागेका हुन्।

उनले भनेका छन्—बालबालिकाहरु भोका छन् र भेनेजुएलाका झण्डै सबैजसो अस्पतालले औषधी अभावको ठूलो समस्या खेपिरहेका छन्।

३० लाख भेनेजुएलाका जनता छिमेकी देशमा गएको भन्दै उनले उक्त संकटले क्षेत्रिय स्वरूप लिएको समेत बताए।

ग्वाइदोका एकजना प्रतिनिधिले ब्राजिल र क्यारेबियनमा थप सहायता संकलन केन्द्रहरु खोलिएको बताएका छन्।