ह्वावेई प्रकरण: चिनियाँ मोबाइल कम्पनीविरुद्ध अमेरिकामा मुद्दा, दुई देशबीच तनाव चर्किने सम्भावना

ह्वावेइ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाको न्याय मन्त्रालयले ह्वावेई र उसको मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ
Published

अमेरिकाको न्यायमन्त्रालयले चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेई र उसकी मुख्य वित्तीय अधिकारी मङ वान्जूविरुद्ध मुद्दा दायर गरेको छ।

विश्वको दोस्रो ठूलो स्मार्ट्फोन निर्माता कम्पनी ह्वावेईले ब्याङ्कमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको दाबी गरिएको छ।

मङ वान्जूलाई गत महिना अमेरिकाको अनुरोधमा छिमेकी देश क्यानडाको भ्यान्कुभरको विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो।

उनलाई इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्ध उल्लङ्घन गरेको आरोप पनि लगाइएको छ।

तनाव बढ्दै

इरानसँग व्यापार गर्न ह्वावेईले उनका दुई सहायक कम्पनीहरू ह्वावेई डिभाइस यूएस र स्काइकम टेकसँगको आफ्नो सम्बन्धबारे अमेरिका र विश्व ब्याङ्कलाई ढाँटेको भन्ने अभियोग ह्वावेईमाथि लागेको छ।

मङ वान्जू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ह्वावेईका संस्थापककी छोरी वान्जूलाई क्यानडामा गत महिना समातिएको थियो

सन् २०१५ को परमाणु सम्झौतापछि हटेको इरानमाथिको प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै अरू कडा शर्तहरूसहित पुनः लागु गरेको छ।

ह्वावेईका संस्थापककी छोरी वान्जूलाई क्यानाडामा नियन्त्रणमा लिएयता चीन, क्यानडा र अमेरिकाबीचको अन्तर्देशीय सम्बन्ध झन् तनावपूर्ण बनेको छ।

मङ र ह्वावेई कम्पनी दुवैले आफूमाथिका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

वाशिङ्टनस्थित बीबीसीकी रजनी वैद्यनाथन भन्छिन्, "ह्वावेईविरुद्ध दुई प्रकारका मुद्दा लगाइएका छन्। पहिलो मुद्दामा ह्वावेईविरुद्ध गोप्य व्यापारिक सूत्रहरू चोरेको आरोप लगाइएको छ। दोस्रोमा चाहिँ ह्वावेईले इरानविरुद्ध लगाइएको अमेरिकी प्रतिबन्धविपरीत काम गरेको अभियोग लगाइएको छ।"

ह्वावेइ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकाले ह्वावेईविरुद्ध २३ वटा अभियोग दर्ता गराएको छ

'सुरक्षा खतरा बढाउँदै ह्वावे'

टी मोबाइलको ट्याप्पी भनिने प्रविधिले स्मार्ट्फोनको परीक्षणका लागि मानिसहरूको औँलाको नक्कल गर्छ।

अमेरिकाले ह्वावेईविरुद्ध २३ वटा अभियोगहरू दर्ता गराएको छ।

अमेरिकी अनुसन्धान ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले ती मुद्दाहरू अमेरिकाको कानुनी मर्यादा र विश्वव्यापार अभ्यासको मानक उल्लङ्घनविरुद्ध भएको बताएका छन्।

ह्वावेईजस्तो कम्पनीले आर्थिक र राष्ट्रिय सुरक्षा दुवैमा चुनौती थप्ने उनले बताए।

यस्तै विभिन्न आरोपहरूका कारण अन्य राष्ट्रहरूले पनि सुरक्षा चासो देखाउँदै ह्वावेइका उत्पादनहरू नकिन्न आफ्ना कम्पनीहरूलाई निर्देशन दिएका छन्।