भारतमा मस्जिद भत्काइँदा पाकिस्तानका मन्दिरमा कसरी पर्‍यो असर

    • Author, शिराज हसन
    • Role, बीबीसी उर्दू
  • Published

जब हिन्दू अतिवादीहरूले भारतको अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएका थिए त्यतिखेर छिमेकमा पनि त्यसको असर पर्ला भनेर शायदै कसैले सोचेका थिए।

अल्पसङ्ख्यक हिन्दूहरूको बसोवास रहेको पाकिस्तानमा समेत उनीहरूले पूजा गर्ने थुप्रै मन्दिर थिए।

अयोध्यामा सन् १९९२ को ६ डिसेम्बरमा त्यस्तो घटना भएपछि ती मन्दिरहरूमा असर पर्न धेरैबेर लागेन।

पाकिस्तानका झण्डै एक सय मन्दिरहरू कतिपय भग्नावशेषमै परिणत भए भने बाँकी केहीले नराम्रोसँग क्षति बेहोरे।

धेरैजसो ती मन्दिरमा नियमित पूजाआजा भने हुँदैनथे।

तीमध्ये केही मन्दिरमा सन् १९४७ को विभाजनपछि पाकिस्तान फर्केकाहरूले शरण लिएका थिए।

८ डिसेम्बर, १९९२ मा लाहोरको एक जैन मन्दिरलाई दङ्ग्याहाहरूले ढालिदिए। अहिले त्यहाँ मन्दिरको खण्डहर मात्र छ।

मैले ती मन्दिरमा बस्ने केहीसँग कुरा गरेको थिएँ।

सन् १९९२ को घटना सम्झँदै उनीहरूले मन्दिरलाई क्षति नपुर्‍याउन विन्तीभाउ गरेका बताए।

"हामीले भनेका थियौँ … यो हाम्रो घर हो। हामीलाई आक्रमण नगर्नूस्।"

रावलपिण्डीको कृष्ण मन्दिरमा आज पनि हिन्दूहरू पूजाआजाका लागि आउने गर्छन्। तर बाबरी विध्वंसपछि मन्दिरको शिखर तोडिएको थियो।

सरकारले चाहेको भए त्यसलाई पुनर्स्थापित समेत गर्न सकिन्थ्यो।

यो तस्वीर रावलपिण्डीको कल्याण दास मन्दिरको हो। अहिले यहाँ दृष्टिविहीन बालबालिकाहरूका लागि विद्यालय सञ्चालित छ।

सन् १९९२ मा एउटा दङ्गामा सो ठाउँ समेत थियो। तर उक्त विद्यालयले आफूलाई पुन: जीवन्त तुल्याउन सक्यो।

पाकिस्तानको झेलम शहरको एक उजाड मन्दिरको दृश्य हो यो।

स्थानीयवासीहरूका अनुसार यो मन्दिरमाथि धावा बोल्न खोज्ने सबैलाई हानी पुग्यो। कोही घाइते भए त कसैको ज्यान नै गयो।

सन् १९९२ मा केही मानिसहरू यस मन्दिरलाई भत्काउन खोज्दा माथिबाट खस्न पुगे।

त्यसपछि मन्दिरमाथि धावा बोल्ने प्रयास कसैले गरेका छैनन्।

लाहोरको अनारकली बजारस्थित वंशीधर मन्दिरलाई सोही साल आंशिक क्षति पुगेको थियो।

लाहोरको शितलादेवि मन्दिर समेत बाबरी मस्जिद काण्डको असर बेहोर्नेमध्येको एक हो।

आंशिक रूपमा क्षतिग्रस्त यस मन्दिरमा दुई देशको विभाजनपछि भारतबाट आएका शरणार्थी बसोबास गर्छन्।