विवादास्पद कर आदेशमा ट्रम्पको हस्ताक्षर

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्टील र एलुमिनियम धातुमाथि उच्च कर लगाउने विवादास्पद आदेशमाथि हस्ताक्षर गरेका छन्।

तर केही मुलुकलाई भने सुविधा दिइएको छ।

ट्रम्पले अमेरिकाले "अनुचित व्यापार"का कारण समस्या भोगिरहेको भन्दै नयाँ व्यवस्थाले अमेरिकी उद्योगलाई सहयोग पुग्ने बताएका थिए।

नयाँ कर १५ दिनमा कार्यान्वयनमा जानेछ तर त्यसमा क्यानडा र मेक्सिकोलाई छुट दिइएको छ।

विरोध

अमेरिका आयात हुने स्टीलमा २५ प्रतिशत र एलुमिनियममा १५ प्रतिशत कर तोकिएको छ।

राष्ट्रपतिकै पार्टीभित्र र अमेरिकाका मुख्य व्यापार साझेदारहरुले उक्त करको विरोध गरेका थिए।

ट्रम्पका प्रमुख आलोचक मध्ये एक रिपब्लिकन सिनेटर जेफ फ्लेकले पनि नयाँ करको विरोध गरेका थिए।

उनले नयाँ करलाई कार्यान्वयनमा ल्याउन नदिन नयाँ कानूनको मस्यौदा बनाउने प्रतिक्रिया दिने भनेका थिए।

संसदका सभामुख पल रायनले पनि नयाँ व्यवस्थाले अनपेक्षित परिस्थिति निम्तिन सक्ने त्रास व्यक्त गर्दै त्यसमा विमति जनाएका थिए।

कर व्यवस्थामाथि राष्ट्रपतिको हस्ताक्षर कार्यक्रममा स्टील र एलुमिनियम कम्पनीका कामदारहरु उपस्थित थिए।

ट्रम्पले ती कामदारहरु अमेरिकाको मेरुदण्ड भएको बताए।

युरोपियन युनियन र ब्रिटिश नेताहरुले अमेरिकाले युरोपलाई पनि छुट दिनुपर्ने प्रतिक्रिया दिएका छन् तर फ्रान्सका अर्थमन्त्री ब्रुनो लु मेयरले व्यापार युद्धले घाटा मात्र हुने भन्दै अमेरिकी घोषणाप्रति दु:ख व्यक्त गरेका छन्।