चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शुरु

चिनियाँ

तस्बिर स्रोत, Reuters

Published

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेशन राजधानी बेइजिङमा शुरु भएको छ।

उक्त महाधिवेशनले अर्को पाँच वर्षका लागि नयाँ नेता तथा नीतिहरुको टुङ्गो लगाउनेछ।

प्रत्येक पाँच वर्षमा हुने महाधिवेशन बेइजिङमा शुरु हुनुअघि चीनभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

राष्ट्रपति शी जीनपींगले उक्त पार्टीको महाधिवेशनमा आफ्नो कार्यकालको उपलब्धिबाट सम्बोधन शुरु गरेका छन्।

सम्बोधन

चीनका वरिष्ठ नीति निर्माता रहने पार्टीको पोलिटब्यूरो स्थायी समितिमा को-को हुनेछन् भन्ने खुलासा आउँदो साता महाधिवेशनको अन्त्यमा हुनेछ।

पार्टीका नेताहरु र राष्ट्रपति शीले राजधानीमा २ हजारभन्दा बढी प्रतिनिधिहरुलाई सम्बोधन गर्नेछन्।

चीन, शी जीनपींग, महाधिवेशन

तस्बिर स्रोत, Reuters

बन्द कोठामा हुने सम्मेलनले चीनलाई अब कसले शासन गर्छ र अर्को कालमा देश कुन दिशामा जान्छ भन्ने तय गर्छ।

सन् २०१२ मा राष्ट्रपति भएका शीले शक्तिलाई बलियो बनाउँदै आएका छन् र उनी पार्टीका प्रमुख नै रहने अपेक्षा गरिएको छ।

नयाँ युग

शीले आफ्नो शासनकालमा चीनले हासिल गरेका उपलध्लिबाट बुधबारको भाषण शुरु गरेका थिए।

सम्बोधनका क्रममा उनले समाजवादसहितको चीनको विशेषता नयाँ युगमा प्रवेश गरेको बताए।

शीले भ्रष्टाचार नियन्त्रण गर्न १० लाखभन्दा बढी अधिकारीहरुलाई व्यापक रुपमा कारबाही गरेको आफ्नो कार्यकालको सफलताबारे पनि बोलेको बेइजिङस्थित बीबीसी संवाददाताले बताएका छन्।

राष्ट्रपति शीको पक्षमा व्यापक जनसमर्थन रहेको बताइन्छ।