चीन: १२ उच्चअधिकारी निष्कासित

चीन

तस्बिर स्रोत, AFP/Getty

Published

चिनियाँ कम्युनिष्ट पार्टीले १२ जना उच्चअधिकारीहरुलाई निष्कासन गरेको छ।

प्रत्येक पाँच वर्षमा नेतृत्व चयनका लागि बस्ने उक्त पार्टीको महत्वपूर्ण महाधिवेशनको केही दिनअघि पछिल्लो घटना प्रकाशमा आएको छ।

निष्कासनमा पर्नेमा पूर्व न्याय मन्त्री उ आइङ् पनि छिन्।

उनी चीनमा उच्च तहमा पुगेका सीमित महिला नेतामध्ये एक हुन्।

आरोप

चीन

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, महाधिवेशन 'ग्रेट हल अफ द पिपल'मा हुनेछ।

उनीसहित कारबाहीमा परेका १२ नेतामाथि विभिन्न खाले आरोपहरु लगाइएका छन्।

पार्टीको आचारसंहिता उल्लंघन गरेको देखि लिएर नातावादमा दोषी देखिएकोसम्मका आरोप लगाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

अक्टोबर १८ अर्थात् यही बुधबारबाट शुरु हुने पार्टी महाधिवेशनअघि हिजो बसेको पार्टीको बृहत बैठकले पछिल्लो कारबाही अनुमोदन गरेको हो।

प्रत्येक पाँच वर्षमा हुने उक्त महाधिवेशनले पार्टी र मुलुकको नयाँ नेतृत्व चयन गर्नेछ।

चीनको सबैभन्दा शक्तिशाली निर्णयकर्ताहरुले उक्त भेलाबाट मुलुकको भावी कार्यदिशा पनि तय गर्नेछन्।

महाधिवेशन

सी जिनपिङ

तस्बिर स्रोत, AFP/Getty

तस्बिरको क्याप्शन, राष्ट्रपति सी जिनपिङ नै नेतृत्वमा दोहोरिने प्रबल सम्भावना छ

महाधिवेशनमा २३ सय जना प्रतिनिधिले देशभरबाट भाग लिने व्यवस्था छ।

तर पछिल्लो कारबाहीसँगै सबैले त्यसमा भाग लिन पाउनेछैनन्।

ती प्रतिनिधिले करिब २ सय सदस्य रहेको केन्द्रीय कमिटी चयन गर्नेछन्।

उक्त कमिटीले पोलिटब्युरो र त्यसबाट पनि पोलिटब्युरो स्थायी कमिटी चुनिनेछ।

यी नै चीनका निर्णय गर्ने वास्तविक निकाय हुन्।

केन्द्रीय कमिटीले पार्टीको प्रमुख नेता अर्थात् महासचिव चयन गर्नेछ जो देशको राष्ट्रपति बन्नेछन्।

र, यसपालि राष्ट्रपति सी जिनपिङ नै दोहोरिने प्रबल सम्भावना छ।