‘अवरुद्ध स्थानमा खोप अभियान निरन्तर चलाइने’

हडतालमा रहेका स्वास्थ्यकर्मी
Published

हडतालमा रहेका स्वास्थ्यकर्मीहरु अभियानमा सहभागी नभएपछि खासगरि सिराहा र सप्तरी जिल्लामा हजारौं बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएको अधिकारीहरुले बताएका छन्।

१५ जिल्लाका १६ लाख बालबालिकालाई शनिबार र आइतबार दुई दिन खोप खुवाउने कार्यक्रम रहेको थियो।

हड्तालका कारण असर परेका स्थानहरुमा निरन्तर खोप कार्यक्रम जारी राखिने स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले बीबीसीलाई बताएका छन्।

"धेरै ठाउँमा खोप कार्यक्रम राम्रै गरि चल्यो। तर सिराहा र सप्तरीमा असर पर्यो। जहाँ असर परेको छ त्यहाँ यो अभियान निरन्तर चलाउनेछौं," उप्रेतीले भने।

शनिबार र आइतबार दुवै दिन खोप केन्द्रमा पुगेर कैयौं अभिभावक निराश फर्किन वाध्य भएका थिए।

दुई बालबालिका लिएर दुई दिननै त्यसरी खोप केन्द्र धाएका हदिस खुदारले भने, "अरुबेला खोप दिने ठाउँ वडा कार्यालयमा म दुवै दिन गएं। तर त्यहाँ कोही थिएन।"

निलम्बन

खोप कार्यक्रम असफल बनाएको आरोपमा सरकारले केही जिल्ला स्वास्थ्य प्रमुख सहित १८ जना कर्मचारीलाई निलम्बन गरेको सचिव उप्रेतीले जनाएका छन्।

सरकारले कारवाही गर्ने भनेपछि आन्दोलनरत कतिपय कर्मचारीले खोप कार्यक्रममा सहभागी हुने बताएका छन्।

एक जना स्वास्थ्यकर्मी वीरेन्द्र नायकले भने, "हामी अहिले पनि आन्दोलनमै छौं। तर यो राष्ट्रिय खोपमा बालबालिकाले खोप पाउन् भनेर हामी समन्वय गर्दैछौं।"

स्वास्थ्य सेवा ऐन अनुसार कर्मचारीहरुको पदस्थापन जस्ता माग राखी कर्मचारी आन्दोलनरत रहेका छन्।

स्वास्थ्य मन्त्री गगन थापाले जायज माग पूरा गरिने तर खोप जस्ता स्वास्थ्यका कार्यक्रम अवरोध गर्नेलाई कारवाही गरिने बताएका छन्।