तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सगरमाथा चढ्ने विचारमा हुनुहुन्छ? आफ्नो मल फिर्ता ल्याउन तयार हुनुहोस्
- Author, नवीन सिं खड्का
- Role, पर्यावरण संवाददाता, बीबीसी विश्व सेवा
- Published
पर्वतारोहीहरूले अबदेखि दिसा गरेपछि सगरमाथामा छोड्न नपाउने र आफूसँगै आधार शिविरमा फिर्ता ल्याउनुपर्ने नियम ल्याउन लागिएको स्थानीय अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
"हाम्रा हिमालहरू गनाउन थालिसके," खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले भने। आफ्नो क्षेत्रमा पर्ने सगरमाथा सफा र स्वच्छ राख्न योसहित अन्य नियम ल्याउन लागिएको शेर्पाले जानकारी दिए।
"हिमालका ढुङ्गामा दिसा देखिएको र पर्वतारोहीहरू बिरामी पनि परेको गुनासो हामीले सुनेका छौँ। यो कदापि स्वीकार्य छैन र यसले हाम्रो छवि बिगार्छ," उनले भने।
त्यसैले अबदेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा र नजिकै रहेको ल्होत्से हिमाल चढ्ने आरोहीहरूले आधारशिविरबाटै आफ्नो मल राख्न झोला किनेर लग्नुपर्ने हुन्छ।
उनीहरू फर्केिएपछि त्यो झोलाको जाँच पनि गरिने छ।
हिमालमा आखिर शौच गरिन्छ कहाँ?
आधारशिविरमा हिमाली वातावरणसँग घुलमिलका लागि आरोहीहरू लामो समय बस्दा पालभित्र मलमूत्र जम्मा हुने ठूला भाँडा राखिएको हुन्छ।
आरोहण सुरु गरिसकेपछि भने शौच गर्ने ठाउँ मिलाउन अलि गाह्रो हुन थाल्छ। आरोही र तिनका सहयोगीहरूले सम्भव भएसम्म खाल्डो खनेर दिसा गर्छन्।
तर हिमालमा माथिल्ला केही भागमा भने हिउँ कम हुने भएकाले खुला ठाउँमा नै शौच गर्नुपर्ने हुन्छ।
सगरमाथामा अत्यधिक चिसो हुने भएकाले मानवमल सड्दैन। त्यहाँको तापक्रम -४२ डिग्री सेल्सिअससम्म झरेको अभिलेख छ।
सगरमाथा चढ्नेमध्ये धेरै कमले मात्र आफ्नो मलमूत्र झोलामा राखेर फिर्ता ल्याउँछन्।
नेपाली सेनाको वार्षिक अभियानसहितका सरसफाइ अभियान केही वर्षयता बढ्दै गए पनि नेपालका हिमालहरूमा फोहोर व्यवस्थापन ठूलो चुनौतीको रूपमा रहेको छ।
‘खुला शौचालय’
"विशेष गरी सफाइका लागि पुग्न नसकिने उच्च शिविरहरूमा मानवमल ठूलो समस्याको रूपमा रहेको छ," सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक गैरसरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए।
आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि सगरमाथाको फेदमा रहेको क्याम्प वन र चुचुरोनजिक रहेको क्याम्प फोरका बीचमा करिब तीन टन मानवमल रहेको उनको संस्थाको अनुमान छ।
"त्यसको आधा त क्याम्प फोर भनिने साउथ कोलमा नै रहेको विश्वास छ," छिरिङ शेर्पाले बीबीसीसँग भने।
सगरमाथा आरोहण आयोजना गर्ने अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक स्टीभन केक साउथ कोलले "खुला शौचालय" सङ्ज्ञा पाएको बताउँछन्।
समुद्री सतहभन्दा ७,९०६ मिटरको उचाइमा रहेको यो स्थान सगरमाथा वा ल्होत्से हिमाल चढ्नुअघि आधारका रूपमा छ।
"यहाँ खासै हिउँ नभएकाले चारैतिर दिसा देखिन्छ," केकले भने।
खुम्बु पासाङल्हामु गाउँपालिकाको अनुमतिसहित सगरमाथा प्रदूषण नियन्त्रण समितिले आगामी मार्चबाट सुरु हुने आरोहण मौसमका लागि संयुक्त राज्य अमेरिकाबाट मानवमल हाल्ने झन्डै ८,००० वटा झोला किन्न थालेको छ।
ती झोलामा हुने रसायन र धुलोले दिसालाई ठोस बनाई गन्धरहित बनाउँछन्।
औसतमा एक आरोहीबाट प्रतिदिन २५० ग्राम मल निस्किन्छ र आरोहणको क्रममा आरोहीहरू झन्डै दुई साता माथिल्ला शिविरहरूमा समय व्यतीत गर्छन्।
"यसैको आधारमा हामीले प्रत्येक आरोहीलाई दुइटा झोला दिने योजना बनाएका छौँ। यसमा एउटा झोला पाँचदेखि छ पटकसम्म प्रयोग गर्न मिल्छ," छिरिङ शेर्पाले भने।
"यो एक सकारात्मक पहल हो र यसलाई सफल बनाउन हाम्रो तर्फबाट पूर्ण सहयोग हुन्छ," पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले समर्थन व्यक्त गरे।
उनका अनुसार उनको संस्थाले यसलाई सुरुमा सगरमाथामा पाइलट परियोजनाका रूपमा लागु गर्नुपर्ने र पछि अरू हिमालमा पनि पनि त्यस्तै नियम लागु गर्नुपर्ने सुझाव दिएको छ।
आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल आरोहण गर्ने प्रथम नेपाली नागरिक मिङ्मा शेर्पाले मानवमल व्यवस्थापनका लागि यस्ता झोला अन्य हिमालहरूमा पनि प्रयोगमा रहेको बताए।
"(उत्तर अमेरिकाको सबैभन्दा अग्लो चुचुरो) डेनाली हिमाल र एन्टार्क्टिकामा पनि यस्ता झोला प्रयोग गरिन्छ, त्यसैले हामीले यसको पैरवी गर्दै आएका छौँ," नेपाल पर्वतारोहण सङ्घका सल्लाहकार समेत रहेका शेर्पाले भने।
केकको पनि भनाइ त्यस्तै छ। यस्ता झोलाले हिमाल सफा राख्न सघाउने उनको विश्वास छ।
नेपाल सरकारले विभिन्न समयमा पर्वतारोहणका लागि विभिन्न नियमहरू ल्याएको छ।
तर ती नियम राम्ररी कार्यान्वयन भने भएका छैनन्।
यसको एउटा प्रमुख कारण आधारशिविरमा सम्पर्क अधिकृतको अनुपस्थिति हो।
नियमानुसार आधारशिविरमा आरोहण दलसँग सरकारी अधिकारीहरूको पनि उपस्थिति रहनुपर्छ। तर व्यवहारमा त्यस्तो नहुने गरेको आरोप सरोकारवालाहरूको छ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाले भने "आधारशिविरमा राज्यको उपस्थिति अत्यन्तै न्यून छ। त्यसले गर्दा अनुमतिबिना हिमाल आरोहणदेखि लिएर अन्य थुप्रै प्रकारका अनियमितताहरू हुँदै आएका छन्।"
"तर अब यो अवस्थाको अन्त्य हुने छ। हामी आधारशिविरमा एक सम्पर्क कार्यालय स्थापना गर्ने छौँ र हाम्रा सबै नियम कडाइका साथ पालना गराउने छौँ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।